राष्ट्रिय प्रजातन्त्र पार्टी रूपन्देहीमा विवाद सुरू भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्वाचन समितिले रूपन्देही निर्वाचन क्षेत्र नं २ को निर्वाचन पुनः गर्नु भनेर पत्राचार गरेपछि विवाद उत्पन्न भएको हो। क्षेत्र नं. २ को अधिवेशन २ महिना पहिले मात्र सम्पन्न भएर नेतृत्व चयन गरेको थियो।
पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले क्षेत्र नं २ को निर्वाचन गराउन संयोजक बनाई खटाएर पठाएका सूर्य बहादुर कार्की आफै क्षेत्र नंं २ को ख बाट अध्यक्ष बनेपछि विवाद केन्द्रसम्म पुगेको हो।
क्षेत्र नंं २ ख मा कार्की र क्षेत्र नं २ क मा कमल बस्याल निर्वाचित भएपछि गएको जेठ २३ गते भएको क्षेत्र नं २ को अधिवेशनबाट विष्णु आचार्य अध्यक्ष बनेका थिए। तर क्षेत्र नं. २ ख मा अध्यक्ष बनेका कार्कीले अधिवेशनको तिथि मिति नै सार्वजनिक नगरी आफू निकटका सदस्यहरूलाई बोलाएर अधिवेशन गरेपछि विवाद उत्पन्न भएको राप्रपाका एक नेताले बताए।
उक्त अधिवेशनबाट क्षेत्र नं १ का बासिन्दा कमल बस्याललाई क्षेत्र नं २ क मा अध्यक्ष तोकेपछि केन्द्रीय निर्वाचन समितिले उक्त अधिवेशन नै बदर गरी नयाँ अधिवेशन गर्न पत्राचार गरेको छ। तर उक्त पत्रलाई जिल्लाले लत्याएको ती नेताले बताए।
केन्द्रले जेठ २३ मा भएको निर्वाचन बदर गर्दै पुन अधिवेशन गर्न ध्रुव रायमाझीलाई केन्द्रीय निर्वाचन पर्यवेक्षक खटाएको छ भने जिल्लाले निर्वाचन समितिका सदस्य शेर बहादुर गौतम क्षेत्रीलाई निर्वाचन गराउने जिम्मेवारी दिएको छ।
तर आफैले पुनः निर्वाचन गराउन शेर बहादुर गौतमलाई जिम्मेवारी दिएका जिल्ला अध्यक्ष सागर प्रताप राणाले एकै मितिमा फरक फरक पत्र पठाएपछि राप्रपा कार्यकर्ताहरू आक्रोशित भएका छन्।
‘सागर प्रताप राणाले आफै जिल्ला अध्यक्ष हुनका लागि यो खेल खेल्नु भएको रहेछ, कहिले निर्वाचन गराऊ भनेर पत्र लेख्नुहुन्छ कहिले त्रुटि सच्याऊ भनेर पत्र लेख्नुहुन्छ यसरी पार्टी चल्दैन,’ राप्रपाका ती नेताले भने।
राणाले भदौ ५ गतेको मितिमा निर्वाचन समिति सदस्य शेर बहादुर गौतमलाई पत्र लेख्दै भदौ ८ गते भित्र क्षेत्र नं २ को क र ख को कार्यसमितिको अधिवेशन गराउन जिम्मेवारी दिएका छन्।
पत्रमा पार्टीको विधान र निर्वाचन निर्देशिका २०८३ बमोजिम सबैलाई जानकारी गराई कार्य तालिका प्रकाशन गरी तत्काल अधिवेशन गर्न गराउन भनिएको छ।
राणाले भदौ ६ अर्को पत्र लेख्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ कार्यसमिति र निर्वाचन क्षेत्र नं. २ ख को विषयमा त्रुटि देखिएको भन्ने ब्यहोराको उजुरी केन्द्रीय निर्वाचन समितिमा परेको हुँदा सो त्रुटि सच्चाई २०८३ साल भाद्र ९ गते भित्र कार्यसमितिको विवरण जिल्ला कार्यसमिति रुपन्देहीमा पेस गर्न गराउन भनेका थिए।
राणाले पुनः भदौ ६ गते नै निर्वाचन समितिलाई अर्को पत्र लेख्दै क्षेत्र नं २ क को मात्रै निर्वाचन गराउनु भनेर जिम्मेवारी दिएपछि विवाद बढेको राप्रपा कार्यकर्ताहरूको भनाई छ।
अघिल्लो दिनको पत्रमा निर्वाचन क्षेत्रको ३ वटै अधिवेशन गराउन भनेका राणाले आफू कमजोर हुने भएपछि अधिवेशन नगरी अध्यक्ष मात्रै तोक्ने योजनामा लागेको राप्रपा कार्यकर्ताहरूको आरोप छ।
‘राणा ३० वर्षदेखि निरन्तर जिल्ला अध्यक्ष हुनुहुन्छ अहिले पनि अध्यक्ष हुनका लागि अनेक षडयन्त्र गर्नु भएको छ। कहिले क्षेत्र नं २ को सबै अधिवेशन गराऊ भन्नु हुन्छ कहिले क र ख को गराऊ भन्नु हुन्छ, जब क र ख को निर्वाचन विधान विपरीत छ भने क्षेत्रीय समिति कसरी वैद्य हुन्छ,’ ती कार्यकर्ताले प्रश्न गरे।
जिल्ला अध्यक्ष राणाले भने केन्द्रले अधिवेशन गराउन पत्राचार गरे पनि जिल्लाले वास्तविकता बुझाएर पत्र पठाएको बताए।
‘केन्द्रले पत्र पठाएको हो हामीले केन्द्रलाई विषय बुझाएर पत्र पठाएका छौँ। अब जहाँ त्रुटि छ त्यही सच्याउने हो अधिवेशन गर्ने होइन,’ उनले भने, ‘क्षेत्र नं १ को सदस्य २ मा गएर अध्यक्ष बन्न विधानले नमिल्ने हो त्यो सच्याउँछौँ जहाँ विधान विपरीत छ त्यही सच्याउने हो अधिवेशन गर्ने होइन।’