बागमती प्रदेशमा सत्ता साझेदार ३ दलबीच ६ बुँदे सहमति भएको छ।
मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राप्रपाबीच आज ६ बुँदे सहमति भएको हो।
समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने पहिलो बुँदा छ।
दोस्रोमा, ८ मन्त्रालय नबढाउने गरी मन्त्रालय भागबन्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने उल्लेख छ।
तेस्रो बुँदामा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरिने उल्लेख छ। ७ दिनभित्र यस्तो कार्यक्रम तयार गर्न ७ सदस्यीय समिति पनि बनेको छ।
चौथो बुँदामा, सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र सुरूमा नेकपाले नेतृत्व लिने उल्लेख छ।
पाँचौंमा मन्त्रिपरिषदलाई महिला सहभागितासहित समावेशी बनाउने र छैटौं बुँदामा मन्त्रिपरिषद मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने सहमति छ।
सहमति पत्रमा मुख्यमन्त्री, नेकपा संसदीय दल नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया र राप्रपा संसदीइ दल नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।
राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो। राप्रपाले संसदीय दल नेता थापासहित ४ सांसदलाई कारबाहीसमेत गरेको थियो।