बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन्।
उनले आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले समर्थन गरेका हुन्।
बागमती प्रदेशमा १०४ जना सदस्य छन्। तीमध्ये आजको मतदानमा ५८ जना सहभागी थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ५७ मत परेको छ र यो बहुमत हो।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन्।
नेपाली कांग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो।
नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्।
राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो। राप्रपाले संसदीय दल नेता थापासहित ४ सांसदलाई कारबाहीसमेत गरेको थियो।