इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पको हत्या गर्ने योजना बनाएको खुलेको छ।
ट्रम्पका २० वर्षीय कान्छा छोरा मार्न इरानले योजना बनाइरहेको जस्तो सुनिने भिडिओ त्यहाँको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)बाटै प्रसारण भएपछि यो खुलासा भएको हो।
आइआरआइबी इरानी कट्टरपन्थीनिकट टेलिभिजन हो। इरानी सर्वोच्च नेताको कार्यालयबाटै आइआरआइबीको प्रमुख नियुक्त गरिन्छ।
गत सप्ताहन्तममा आइआरआइबीले प्रसारण गरेको करिब ३ मिनेटको भिडिओमा ट्रम्पका कान्छा छोराको नाम लिइएको थियो।
भिडिओमा अंग्रेजी भाषामै 'ह्वेर टु किल ब्यारोन ट्रम्प?' अर्थात 'ब्यारोन ट्रम्पलाई कहाँ मार्ने?' भन्ने शब्द प्रयोग भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
भिडिओमा ब्यारोन सार्वजनिक रूपमा आउजाउ गर्ने ठाउँहरूबारे पनि चित्र र ग्राफिक्स देखाइएको थियो। त्यसमध्ये न्युयोर्कस्थित ट्रम्प टावर पनि देखाइएको भनेर रोयटर्सले लेखेको छ।
भिडिओको अन्त्यतिर एक जना वक्ताले ब्यारोनको हत्या गर्नेलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने र त्यस्ता व्यक्तिहरूको खोजी र प्रतिक्षा भइरहेको बताएका थिए।
इरानको सरकारी टेलिभिजनबाट यस्तो भिडिओ सार्वजनिक भएपछि अमेरिकी सिक्रेट सर्भिस सतर्क भएको छ। उसले भिडिओबारे अनुसन्धान गरिरहेको पनि रोयटर्सले लेखेको छ।
'सिक्रेट सर्भिस उक्त भिडियोबारे जानकार छ। हाम्रा सुरक्षा जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध खतरा मान्न सकिने कुनै पनि विषयको अनुसन्धान गर्छ,' हेरिङले भनेका छन्।
तर सुरक्षा सञ्चालनसँग सम्बन्धित संवेदनशील सूचना सार्वजनिक नगर्ने हेरिङले बताएका छन्।
सिक्रेट सर्भिसले भने भिडिओमा उल्लेख गरिएको धम्की वास्तविक र तत्कालको खतरा हो कि होइन भन्नेबारे थप जानकारी दिएको छैन।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले भने एक स्रोतलाई उद्धृत गरेर भिडिओ इरानबाट ट्रम्प र उनका परिवारलाई लक्ष्य गरी चलाइएको अभियानकै एउटा हिस्सा भएको बताएको छ।
यस्ता भिडिओहरू विगतमा पनि सार्वजनिक हुने गरेको र त्यसमा ट्रम्पका परिवारका सदस्यहरू कहाँ जाने गर्छन् भन्ने विवरण र उनीहरूको हत्या कसरी गर्न सकिन्छ भन्ने संकेतसमेत समावेश हुने गरेका छन्।
यसपालि भने ट्रम्प परिवारका कुनै सदस्यलाई नामै किटेर निशाना बनाइएको देखिएको छ। यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि धम्की दिइएका घटना सार्वजनिक भएको सिएनएनले लेखेको छ।
अमिरका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेका बेला आएका यस्तो भिडिओले ट्रम्प परिवारको सुरक्षा जिम्मा प्राप्त सिक्रेट सर्भिस अझै सतर्क भएको छ।
ट्रम्प स्वयंले पनि आफूविरूद्ध इरानबाट धम्की आएको भनेर सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन्।
गत जुलाईमा इरानी खतराकै कारण ट्रम्पले एयरफोर्स वान प्रयोग नगरी सेनाको जहाजबाट गोप्य रूपमा टर्कीबाट बेलायत आएका थिए। बेलायतबाट मात्रै उनले आफूले चढ्ने एयरफोर्स वान विमान प्रयोग गरेका थिए।
'म उनीहरूको सबै सूचीमा छु। अहिलेसम्म भाग्यमानी भएको छु जस्तो लाग्छ, तर सायद त्यो सधैँ रहँदैन। यी मानिसहरू दुष्ट र बिरामी मानसिकताका छन्,' ट्रम्पले त्यतिबेला पनि भनेका थिए।
सिएनएनका अनुसार अमेरिकी सरकारले सन् २०२० देखि नै इरानले ट्रम्पको हत्या गर्ने प्रयास गर्न सक्ने चेतावनी दिँदै आएको छ। त्यस वर्ष ट्रम्पको आदेशमा गरिएको ड्रोन आक्रमणमा इरानका शक्तिशाली सैन्य कमान्डर कासिम सुलेमानी मारिएका थिए। त्यसयता इरानबाट ट्रम्पविरुद्ध बदलाको धम्की आइरहेको भनिएको छ।
जुलाईमा खामेनीको अन्त्येष्टिसम्बन्धी कैयौँ दिन चलेका कार्यक्रमका क्रममा पनि इरानका सरकार समर्थकहरू ‘किल ट्रम्प’ अर्थात् ‘ट्रम्पलाई मार’ लेखिएका पोस्टर बोकेर सडकमा देखिएका थिए।
केही प्रदर्शनकारीहरूले खामेनीको मृत्युको बदला लिनेलाई पुरस्कार दिने घोषणा पनि गरेका थिए।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिकी विरोधी प्रदर्शन र नाराबाजी नियमित रूपमा हुँदै आएका छन्। सरकारी समर्थनमा हुने यस्ता प्रदर्शनमा ‘डेथ टु अमेरिका’ अर्थात् ‘अमेरिकालाई मृत्यु’ भन्ने नारा लगाउने र अमेरिकी झण्डा जलाउने गतिविधिसमेत हुँदै आएका छन्।