नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।
सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
यस बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यसका साथै, काठमाडौंमा उपलब्ध— नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिहरूलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ।
यसबीच सभापति थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको उल्लेख गरेका छन्।
यस विपदको अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन उनले आग्रह गरेका छन्। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन उनको अनुरोध छ।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने र कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्यलाई तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न उनले अपिल गरेका छन्।