राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक सकिएसँगै पार्टीको सचिवालय बैठक डाकेको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार संसद सकिए लगत्तै सचिवालय बैठक राखिएको रास्वपाले जनाएको छ।
बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमामा बस्नेछ।
रसुवामा आएको भीषण बाढीका कारण धनजनको क्षति भएपछि रास्वपाको सचिवालय बैठक बस्न लागेको हो।
रास्वपाले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरूमा भएका मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न बुधवार बिहानै सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई आह्वान गरेको थियो।
‘बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ,’ रास्वपा महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
रास्वपाले आफ्ना पार्टीका सदस्यलाई स्थानीय प्रशासनसँग समन्वय गर्न पनि निर्देशन गरेको थियो।
‘कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देश गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।