नेपाली कांग्रेसको आकस्मिक रूपमा आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ७ वटा निर्णय गरेको छ।
सभापति गगन थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नेलगायत निर्णय गरेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ।
यस्ता छन् निर्णय-
१. आज भदौ १० गते बिहान रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त र अत्यन्त गम्भीर बनेको छ। कयौंको मृत्यु, कयौं वेपत्ता र अर्बौंको भौतिक क्षतिको खबरले सिङगो देशलाई स्तब्ध र मर्माहत बनाएको छ।
पूर्वसूचना प्रणाली र समन्वय संयन्त्र प्रभावकारी नहुँदा अनपेक्षित थप क्षति व्यहोर्नु परेको छ। यो विपदमा परी दिवङ्गत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक वेपत्ताहरूको हरसम्भव खोजी गर्न, जोखिममा रहेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको द्रुतगतिमा उद्धार, स्थानान्तरण एवं राहत उपलब्ध गराउन, घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गर्दछ।
२. संकटमा सबैको साथ, एकमात्र कर्तव्य: उद्धार र राहत
नागरिकको जीवन विपदमा परेको घडीमा सरकार, प्रतिपक्षी राजनीतिक दलहरू, संघ-संस्था, निजी क्षेत्र, नागरिक समुदाय सबैको साझा एकमात्र कर्तव्य बन्दछ- उद्धार र राहत। अत: अन्य कुरा थाति राखेर सम्पूर्ण ध्यान विपद व्यबस्थापनमा केन्द्रीत गर्न सरकारलाई आग्रह गर्दै यो बैठक विपदको यो घडीमा सरकारको हरेक प्रयासमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछ।
साथै, यस विपदको अवस्थामा नेपाली कांग्रेसका कुनै पनि सदस्य भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न, आरोप प्रत्यारोप नगर्न र उद्धार राहत तथा व्यवस्थापन कार्यमा मात्र लाग्न आग्रह गर्दछ।
३. उद्धार, राहात र पुनर्स्थापनामा केन्द्रीत हुन पार्टी पङ्तिलाई आग्रह
विपदबाट प्रभावित जिल्ला- रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाको पार्टी नेतृत्व एवं सबै तहका सदस्य साथीहरू, जिल्ला सम्पर्क समितिहरू, भ्रातृ संघ शुभेच्छुक संस्थाहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, सक्रियतापूर्वक उद्धार र राहत कार्यमा तुरुन्त जुट्न, स्थानीय विपद व्यवस्थापन संयन्त्रसंग समेत समन्वय र सहकार्य गरी ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दछ। साथै प्रभावित क्षेत्रभन्दा बाहिरका पार्टीका साथीहरूलाई जहाँ हुनुनुन्छ आ-आफ्नो स्थानबाट साथ सहयोग गर्न अपील गर्दछ।
४. केन्द्रीय कार्यालयका पूर्वनिर्धारित कार्यक्रम स्थगित
विपदको यस घडीमा नेपाली कांग्रेसले भदौ ११ गतेका लागि निर्धारित महिला उद्यमशीलता सम्मेलन, ग्रिन टेवल लगायत पूर्व निर्धारित कार्यक्रम र पार्टी केन्द्रीय कार्यालयमा हुने छलफलका विचार श्रृङ्खलाहरू एक साताका लागि स्थगित गरिएको छ।
५. पार्टी पदाधिकारीहरू विपद व्यवस्थापनमा केन्द्रित रहने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं प्रभावित भुगोलका सदस्य साथीहरू अन्य कार्यक्रममा सहभागी नरहेर वाढीबाट उत्पन्न संकटमा उद्धार-राहत र पुनर्स्थापना कार्यमा सम्पूर्ण रुपले केन्द्रित रहने निर्णय गर्दछ।
६. रसुवा वाढी विपद व्यवस्थापन समन्वय तथा सहजिकरण समिति गठन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा वाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका साथीहरू, प्रतिनिधिसभा सदस्यहरू, वागमती प्रदेश कार्यसमितिका सोही भूगोलका साथीहरू, तत् तत् जिल्लाका पार्टी सभापतिहरू, प्रदेशसभा सदस्यहरू र नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख-उपप्रमुखहरू, भ्रातृ संघका सभापतिहरू र सम्बन्धित शुभेच्छुक संस्थाका सभापति सदस्य रहने गरी पार्टीको तर्फबाट विपद व्यवस्थापन समन्वय एवं सहजिकरण समिति गठन गरिएको छ।
समितिको सदस्य सचिवमा पार्टीको विपद व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा रहनु हुनेछ। समिति अन्तर्गत केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क रहनेछ। नेपाली कांग्रेसको तर्फबाट हुने सवैखाले सहयोग यस समितिको समन्वयमा हुनेछ।
७. राहत कोषमा सहयोग
नेपाली कांग्रेस पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरियो।