प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट भदौ ११ गते एक बजे बस्ने गरी बैठक स्थगित गरेका थिए।
तर लगत्तै सूचना निकालेर अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनमा बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ।
अब सूचना प्रकाशित भएपछि मात्र अर्को बैठक बस्नेछ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदरूलाई भिआइपी सुरक्षा र सुविधा नखोजी राहत र उद्दार कार्यमा जुट्न सुझाव दिएका थिए।
‘भिआइपी मुभमेन्टले कहिलेकाहीँ सुरक्षाकर्मीहरूलाई अर्को एउटा चुनौती सिर्जना गर्दछ। म अत्यावश्यक हुँदा भन्दा बाहेक फिल्डमा जाने छैन, बरु सरकारलाई प्रभावकारी रुपमा काम गराउनमा मेरो भूमिका रहनेछ। तर कुनै कारणले, कुनै कारणवश पुग्नुपरेका खण्डमा कुनै पनि किसिमको भिआइपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चिजका लागि चिन्ता गर्नुपर्ने छैन र मेरो दलका सांसदहरू जाँदा पनि सुरक्षाकर्मीले त्यस्तो कुनै चिन्ता नलिइकन आफ्नो काम गर्नुभए हुन्छ, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन,' उनले भनेका थिए।