राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई ५० लाख प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको रास्वपाको सचिवालय बैठकले चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको राहत प्रयासलाई सघाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
बुधबार अपरान्ह बसेको रास्वपाको सचिवालय बैठकले यो लगायत ६ वटा निर्णय गरेको रास्वपाका महामन्त्री विपिन आचार्यले जनाएका छन्।
‘विपद्को यस संवेदनशील घडीमा सरकारको राहत प्रयासमा हातेमालो गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाढी, पहिरो र डुबानका कारण अकालमै ज्यान गुमाएका सबै नागरिकहरूप्रति श्रद्धाञ्जली दिँदै र घाइतेको शीघ्र लाभको कामना गरेको छ।
जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन सम्पूर्ण नागरिकमा अपिल गर्दै, सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारको एकद्वार प्रणालीमार्फत् मात्र आर्थिक तथा भौतिक सहयोग प्रदान गर्न रास्वपाले भनेको छ।
त्यस्तै रास्वपा बैठकले विपदको घडीमा राज्य संयन्त्रलाई सहयो गर्न आफ्नो र्याट टिम खटाउने निर्णय गरेको छ।
केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका पार्टीका सम्पूर्ण समिति, सदस्य तथा शुभचिन्तकहरूलाई र्याट मार्फत खटिन रास्वपाले निर्देशन दिएको छ। यसको संयोजनको जिम्मा पूर्व र्याट संयोजक आशिष थापालाई दिइएको छ।
रास्वपाले भ्रामक समाचार तथा अफवाह भन्दा सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न सबैलाई अनुरोध गरेको छ।
त्यस्तै बेपत्ताको खोजी उद्धार कार्यलाई तिब्रता दिँदै प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराएको छ।
‘साथै, विपद्का कारण घरबारविहीन भएका पीडित परिवारलाई उचित क्षतिपूर्ति र उनीहरूको स-सम्मान एवं दीर्घकालीन पुनःस्थापनाको ठोस कार्ययोजना अविलम्ब सुरु गर्न सरकारसमक्ष जोडदार माग गर्दछौँ,’ रास्वपाको निर्णयमा भनिएको छ।
सचिवालय बैठकले पार्टीका सम्पूर्ण साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय पनि गरेको छ।
‘यस संवेदनशील घडीमा हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा मात्र केन्द्रित गर्नुपर्ने भएकाले, विपद् प्रभावित नागरिकहरूलाई पूर्ण रूपमा साथ दिन राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ।
सरकारले देखाउको तदारूकताको स्वागत गर्दै यो कठिन परिस्थितिमा पार्टी सधैँ सबैको साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरेको छ।
‘प्राकृतिक विपत्तिको यस असहज घडीमा उच्च राष्ट्रिय एकता प्रदर्शन गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, अन्य राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गर्दै हरसम्भव सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी दृढ सङ्कल्पित छ,’ रास्वपाले भनेको छ, ‘साथै, सरकारले देखाएको तदारुकताको स्वागत गर्दै यस कठिन परिस्थितिमा पार्टी सधैं सबैको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्दछ।’