नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी संकटको यो समयमा पार्टी सरकारको साथमा रहेको उल्लेख गरेका छन्।
आज साँझ एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सरकारको हरेक कदममा साथ रहने बताएका हुन्।
‘संकटको यो घडीमा हामी सरकारको साथमा छौं, हाम्रो तर्फबाट प्रधानमन्त्रीजीलाई भेटेर भनिसकेका छौं, सरकारको हरेक कदममा हाम्रो साथ र सहयोग रहन्छ,’ उनले भने, ‘सरकारले जतिखेर आह्वान गर्छ, हामी हाम्रो तर्फबाट सरकारको कोषमा सहयोग रकम जम्मा गर्छौं।’
आज केन्द्रीय समिति बैठक राखेर पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको उनले बताए।
‘पार्टीका सबैलाई अहिले राहत र उद्धारका काममा मात्र खटिन भनिएको छ। रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा एउटा विपद् व्यवस्थापन समिति बनाएका छौं, यसले आजैबाट काम सुरू गरिसकेको छ। यस्तो बेला भिड गर्ने कुराले सहयोगभन्दा पनि असहयोग हुन्छ, जुन कुरा हामी गर्न सक्छौं त्यो गर्छौं,’ उनले भने, ‘स्वास्थ्य, खानालगायत काममा हामी जोडिन चाहन्छौं र एकद्वार प्रणालीबाट यो होस् भन्ने चाहन्छौं।’
विपदको बेला सबै एक ठाउँमा उभिन उनले अपिल गरेका छन्।
उनले अफवाह नफैलाउन पनि आग्रह गरेका छन्।