प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको भिषण बढी पछि उद्दार कार्य कसरी हुँदै छ भनेर आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन्।
बिहानै साढे ६ बजेदेखि उद्धारका लागि १५ भन्दा बढी हेलिकोप्टर उडान भइसकेको, आज बिहानै ११६ जनालाई नेपाली सेनाले उद्धार गरेको उनले जानाएका छन्।
‘थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्,’ उनको फेसबुक पेजमा भनिएको छ, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।’
उनका अनुसार उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको पनि उनले जानकारी दिएका छन्।
‘प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्याइँदैछ,’ उनले फेसबुक पोष्टमार्फत भनेका छन्।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको पनि प्रधानमन्त्री शाहले जानकारी गराएका छन्।
‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ,’ उनले भनेका छन्।
विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था पनि गरिएको छ।
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सबैलाई संयम रहन पनि उनले भनेका छन्।
‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ,’ उनको फेसबुकमा उल्लेख छ, ‘सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’