नेपालका उत्तरी जिल्लामा बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको शोक सन्देशमा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
'तपाईंको देशका उत्तरी जिल्लामा पहिरो र आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस्,' पुटिनले सन्देशमा भनेका छन्।
उनले विपत्तिका कारण प्रभावित नेपाली जनताको दुःखमा रूस पनि सहभागी रहेको उल्लेख गरेका छन्।
'हामी मित्रवत् नेपाली जनताको दुःखमा सहभागी छौं,' पुटिनको सन्देशमा भनिएको छ।
उनले बाढीपहिरोमा परी आफन्त तथा प्रियजन गुमाएका परिवार र साथीभाइप्रति हार्दिक सहानुभूति व्यक्त गर्न आग्रह गर्दै विपत्तिबाट प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभ तथा पुनर्स्थापनाको कामना गरेका छन्।
राष्ट्रपति पुटिनले सन्देशको अन्त्यमा नेपालमा प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।