भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेकपा (एमाले) ले उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ।
भदौ १० गते चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती र त्रिशुली लगायतका बस्तीहरूमा ठुलो क्षति पुर्याएपछि भदौ ११ गते एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।
पोखरेल नेतृत्वको टोलीमा सचिव राजन भट्टराई, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ लगायतका नेताहरूको सहभागिता रहेको थियो।
टोलीले नुवाकोट सदरमुकाम पुगी स्थानीय नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूसँग प्रारम्भिक छलफल गर्नुका साथै विदुर नगरपालिकाको बजार क्षेत्र, स्थानीय अस्पतालका घाइते र देवीघाटको बाढीग्रस्त क्षेत्रको प्रत्यक्ष अवलोकन गरेको थियो।
अनुगमन पश्चात् पार्टीले तयार पारेको सुझाव प्रतिवेदनमा सरकारी संयन्त्र र जमिनको यथार्थ स्थितिबीच ठूलो खाडल देखिएको उल्लेख छ।
सेनाको कमान्डमा हवाई उद्धार भइरहे पनि सुरक्षा निकायहरूबीच समन्वयको कमी, लाइफलाइन मानिएका सडकहरू पूर्णतः विच्छेद हुनु र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धारमा ठूलो समस्या पैदा भएको प्रतिवेदनमा औंल्याइएको छ।सुरक्षा संयन्त्रका बिचमा समन्वय गर्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ।
'तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर तुरुन्त एकीकृत 'कमान्ड पोस्ट' निर्माण गर्ने,'प्रतिवेदनमा भनिएको छ,'मुख्य सडक नजोडिएसम्म वैकल्पिक माध्यम (जस्तैः तुइन, फलामे डोरी वा साना अस्थायी पुल) मार्फत जोखिममा रहेका क्षेत्रहरूमा खानेपानी, औषधि र खाद्यान्न पुऱ्याउने।'
बाढीबाट रसुवाका गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङगो गाउँपालिका तथा नुवाकोटका विदुर नगरपालिकासहित विभिन्न पालिकामा धेरै क्षति पुगेको छ भने धादिङका गल्छी र गजुरीमा करिब १५० घर प्रभावित भएको प्रतिवेदनमा भनिएको छ।
पार्टीले आफ्नोतर्फबाट पनि केन्द्रीय राहत कोष स्थापना गर्ने, स्वयंसेवक परिचालन गर्ने, मजदुरहरूको उद्धारका लागि जिफन्टलाई खटाउन प्रतिवेदनमा सिफारिस गरिएको छ।