नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दसैं, तिहारलगत्तै सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए।
उनले सरकारका गतिविधि तथा कार्यशैलीविरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए।
उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए।
उनले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए।
उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेन्डाप्रति आकर्षण बढ्दै गएको दाबी गरे।
उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरू गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरूद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौं। चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरी प्रतिक्रान्तीकारी षड्यन्त्रका विरूद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’
उनले अगाडि भने, ‘हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ। जुन भ्रम थियो त्यो च्यातिँदै छ। र एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेण्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ। हामी मधेस, बागमती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरि नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ। हामी सबै आआफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउनसक्ने अवस्था छ।’
सरकारले नागिरकको पक्षमा काम गर्न नसकेको संयोजक दाहालको आरोप छ। –न्युज एजेन्सी नेपाल