नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा नै प्रशंसा सहितको अर्को प्रतिवेदन तयार पारेका छन्।
‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को सदस्य नै नरहेका ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेका हुन्। जबकी कार्यदलकै प्रतिवेदनमा भने अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष थियो।
ज्ञवालीले ल्याएको प्रतिवेदनमा ओलीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्रपक्षको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने समेत भनेका छन्।
ज्ञवालीले ओलीकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको हो भन्ने समेत उल्लेख गरेका छन्।
‘उहाँकै नेतृत्वमा संविधान जारी गर्ने कुरामा रोक लगाउन खोज्ने बाह्य हस्तक्षेप र संविधान जारी भएपछि लगाइएको अघोषित नाकाबन्दीको डटेर सामना गर्दै त्यसलाई असफल बनाउने काम भएको हो,’प्रतिवेदनमा भनिएको छ, ‘उहाँकै नेतृत्वमा उत्तरी छिमेकी चीनसँग व्यापार पारवहन सम्झौता गरेर नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउने कुरामा सफलता प्राप्त भएको हो। भूकम्पपछिको पुनर्निर्माण, कोभिड महामारीको सामना, पूर्वाधार विकास र सामाजिक न्याय र सुरक्षाको विस्तारमा समेत महत्वपूर्ण सफलता हासिल भएको हो।’
ज्ञवालीले भदौ २३ र २४ पछि उत्पन्न भएको परिस्थितिलाई सामना गर्नका लागि नै पार्टीले समयअगावै महाधिवेशन गरेको भन्दै नेतृत्व परिवर्तनको माग गर्न नमिल्नेतर्फ संकेत गरेका छन्।
‘महाधिवेशनको सफल आयोजनापछि पार्टीको आन्तरिक जीवनको समस्या समाधान भएको निष्कर्ष निकालिएको थियो,’ प्रतिवेदनमा भनिएको छ।
उनले भदौं २३ र २४ को घट्नालाई षडयन्त्रका रुपमा लिन नसक्दा निर्वाचनमा पराजय बेहोरेको उल्लेख गरेका छन्।
‘भदौ २३ र २४ को घटनालाई षड्यन्त्रपूर्ण घटनाका रूपमा स्थापित गर्न नसक्दा स्वाभाविक रूपमा त्यो नवयुवाहरूको पहलमा भएको राजनीतिक विद्रोह जस्तै गरी स्थापित हुन पुग्यो,’ उनले भनेका छन्, 'नेपालका लोकतान्त्रिक दलहरूले मिलेर भदौ २३ र २४ को घटनालाई षड्यन्त्रका रूपमा स्थापित गर्न सकेको भए सायद अहिलेको अवस्था भन्दा फरक परिणाम आउन सक्थ्यो। तर त्यसो हुन सकेन।’
एमालेले जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक, र सांगठनिक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण, तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।
उपाध्यक्ष रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित उक्त कार्यदल १५ सदस्यीय छ।
कार्यदल सदस्यसचिव एवम् पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा भने पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’को व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ।
६५ पृष्ठ लामो सो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
सो प्रतिवेदनमा कार्यदलकै संयोजक रहेका पार्टी उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले ओलीको विकल्प रोज्न नहुने निष्कर्षसहितको काउन्टर प्रतिवेदन ल्याएका थिए।
थापाले आफ्नो प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने निर्णयको बचाउ गरेका छन्।
दुई प्रतिवेदनको निष्कर्ष र प्रस्तावसहित अध्यक्ष ओलीले अर्को प्रतिवेदन तयार पार्न भनेका थिए। सुरूमा उनले महासचिव एवम् कार्यदल सदस्यसचिव पोखरेललाई नै अर्को प्रतिवेदन तयार पार्न भनेका थिए।
पोखरेलले नमानेपछि उनले पार्टी उपाध्यक्ष एवम् कार्यदल सदस्य विष्णु पौडेललाई आग्रह गरेका थिए। पौडेलले पनि नमानेपछि ओलीले कार्यदलको सदस्य नै नरहेका पूर्वउपमहासचिव ज्ञवालीलाई प्रतिवेदन लेखनको जिम्मा दिएका थिए।