गोरखामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
आज सिरानचोक गाउँपालिका–२ थालाजुङमा जिप दुर्घटना भएको थियो।
अजिरकोट गाउँपालिकास्थित भच्चेकबाट सिरानचोक गाउँपालिकाको चित्रेपोखरीतर्फ आउँदै गरेको जिप ब्रेक फेल भई दुर्घटना हुँदा १ जनाको मृत्यु र ७ जना घाइते भएका हुन्।
थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरूङको मृत्यु भएको वडाध्यक्ष खुसीमान गुरूङको भनाइ छ।
दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।
सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, सिरानचोक–६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ तथा वडा नं ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन् । सबै घाइतेको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको छ।
चालक विकास गुरूङ भने प्रहरी नियन्त्रणमा छन्।