नेपाली कांग्रेसले आज पनि वडा अधिवेशन गरेको छ।
शनिबार र आइतबार वडा अधिवेशनको कार्यतालिका थियो। शनिबार ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको थियो।
कार्यतालिकाअनुसार बाढी प्रभावित ३ र सिराहाबाहेक सबैजसो जिल्लामा अधिवेशन भइरहेको कांग्रेसले जनाएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन भएको छ। तर यो अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताहरू भने सहभागी छैनन्।
वडा अधिवेशनमा सहभागी भई अमरगढी नगरपालिका ९ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका युवा नेता भुवन भट्टका अनुसार डडेल्धुराका सबै वडामा अधिवेशन सुरू भएको छ।
‘डडेल्धुरामा ५२ वटै वडामा १५ औं महाधिवेशनअन्तर्गत अधिवेशन सुरू भई सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले सेतोपाटीसँग भने।
उनले जिल्लाभर नै अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा गर्न लागिएको बताए। ‘हामीले क्रियाशील सदस्यहरूबीच छलफल गरेर वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सकेसम्म सर्वसम्मत टुंग्याएका हौं,’ उनले भने।
जिल्ला सभापति भीमबहादुर साउँदले असोज ३ गते विज्ञप्ति निकालेर वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका थिए।
तर उपसभापति डिल्लीराज जोशीले असोज ३ गते विज्ञप्ति निकालेर वडा अधिवेशन तत्काल रोकेर वार्ता गर्नुपर्ने उल्लेख गरेका थिए।
पूर्वसभापति कर्णबहादुर मल्लले पनि विज्ञप्ति निकालेर वडा अधिवेशनमा सहभागी नहुने उल्लेख गरेका थिए।
डडेल्धुरा देउवाको गृह जिल्ला हो। देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर बेग्लै महाधिवेशन तयारी गरेका छन्। जसअनुसार असोज १५ गते वडा अधिवेशन हुनेछ।