नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत नगर्ने अडान लिएका छन्।
केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजान जरूरी नरहेको ओलीले बताएका हुन्। 'राजनीति प्रतिवेदन प्रकाशन हुँदैछ, केन्द्रीय कमिटी बैठकमा पाइन्छ,' ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, 'कार्यदलको प्रतिवेदन लैजान जरूरी छैन। राजनीतिक प्रस्तावबारे केन्द्रीय कमिटीमा छलफल हुन्छ।
यसअघि सचिवालय बैठकमा ओलीले कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजान आवश्यक नरहेको अडान लिएका थिए।
कार्यदलको प्रतिवेदनमा अध्यक्षमा दुई कार्यकाल र ७० वर्ष उमेर हद राखिएको प्रति आपत्ति जनाएका थिए।
उनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउने भनेर प्रतिवेदनमा उल्लेख गरिएको विषयमा सबैभन्दा बढी आक्रोश पोखेका थिए।
महाधिवेशन प्रतिनिधि परिषद बोलाउने नाउँमा आफूलाई हटाउने षड्यन्त्र भएको उनको आरोप थियो।
आजको बैठकमा प्रतिवेदनबारे छलफल नै नभएको सचिवालय सदस्य लेखराज भट्टले बैठकपछि पत्रकारहरूसँग बताए।
सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेन्डा र कार्यक्रम तय गरेको उनले जानकारी दिए।
उनले प्रतिवेदन आवश्यक भए बैठकमा पेस हुने बताए।
'प्रतिवेदन बुझाएपछि कार्यदल टुंगियो। प्रतिवेदन चाहिँ आवश्यक भए केन्द्रीय कमिटीमा पेस हुन्छ,' उनले भने।
केही बेरमा ललितपुरको भनिमन्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरू हुने केन्द्रीय कमिटी बैठकमा सुरूमा श्रद्धाञ्जली कार्यक्रम राखिएको, त्यसपछि अध्यक्षको मन्तव्य, राष्ट्रिय गानको कार्यक्रम रहनेछ।
केन्द्रीय कमिटीमा आज केही केन्द्रीय सदस्यहरू मनोनीत हुने पनि उनले बताए।
त्यसपछि अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा केन्द्रीय सदस्यहरूले छलफल हुने भट्टले बताए।