नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट प्रहार भइरहेको बेलामा पार्टी एकढिक्का हुनुपर्नेमा केही व्यक्तिहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्वत भएको आरोप लगाएका छन्।
ललितपुरको भनिमण्डलमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रतिकूल समयको सामना गर्न सिंगो पार्टी एकजुट हुनुपर्नेमा समस्या सिर्जना गरिएको बताएका हुन।
'यस्तो अवस्थामा हाम्रो पार्टीभित्र यतिबेला त हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फासिवादी हमलाको प्रतिवाद गर्न एक जुट भएर अगाडि बढ्नु पर्थ्यो। तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्वत भए,' उनले भने।
उनले त्यस्ता तत्वहरूले पार्टीभित्रको समस्या पार्टीमै राख्नुपर्नेमा बाहिर गएर बोलेको भन्दै आपत्ति प्रकट गरे।
'पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउन पर्छ असान्दर्भिक भयो भनेर त्यस्ता कुराहरू बोल्ने, को न्यायाधीश?,' उनले भने।
उनले पार्टीभित्रको कुरा पार्टीकै कमिटीमा छलफल हुनुपर्ने बताए। बाहिर जाँदा विपक्षीहरू खुसी हुने उनको भनाइ छ।
'बाहिर गएर जगहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने , विपक्षीको मनोबल उठाउने विपक्षीलाई खुसी बनाउने क्रियाकलाप हुनुहुँदैन। र यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,' उनले भने।
उनले अघिल्लो वर्षको पुसमै केन्द्रीय महाधिवेशनबाट नीति, विचार, विधि, नेतृत्व लोकतान्त्रिक ढंगले टुंग्याएको बताए।
'महाधिवेशन नमानेर यसका निष्कर्ष नमानेर एउटा धक्काको बहानामा अराजकता उपयुक्त कुरा हुनै सक्दैन। त्यसकारण सबैलाई स्वस्थ सभ्य र संगठनात्मक विधि अन्तर्गत छलफलमा सरिक हौं,' उनले भने।