करिब पाँच वर्षअघि एमाले नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीलाई 'फुटबलका पेले' भनेका थिए।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नेहरूमाथि आक्रोश पोख्दै उनले भनेका थिए, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेलेजस्तै हो।'
उनी ओलीको पक्षमा यति खुलेर उभिन्थे, २०७८ सालमा शिक्षामन्त्री हुँदा उनले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सार्वजनिक रूपमै प्रश्न गरे, 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?'
ओलीका निकटस्थ र कट्टर समर्थकका रूपमा चिनिने श्रेष्ठको त्यो अभिव्यक्ति त्यति बेला खुबै चर्चित थियो।
तर सोमबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा दृश्य बदलिएको छ।
ओलीको राजनीतिक बचाउमा सबभन्दा अगाडि उभिने श्रेष्ठले अहिले उनै ओलीलाई बैठकको विधि र प्रक्रिया सम्झाउँदै प्रतिवाद गरेका छन्।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले आफै बैठक सञ्चालन गर्न थालेपछि श्रेष्ठले आपत्ति जनाएका हुन्।
एमालेमा केन्द्रीय कमिटी बैठक महासचिवले सञ्चालन गर्ने प्रचलन रहेको भन्दै उनले प्रतिवाद गरेका थिए।
'यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि–प्रक्रिया अनुसार जानुपर्छ,' उनले ओलीलाई भने।
ओलीले उनलाई बस्न आग्रह गरे।
'तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन,' ओलीले भने।
तर श्रेष्ठ बसेनन्। बरू उनको आवाज अझ चर्कियो।
'तपाईं मलाई रोक्ने को हो? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो? यस्तो तरिकाले पार्टी चल्छ? यही तरिकाले पार्टी चलाऊँला भन्नुभएको छ?' श्रेष्ठले भने।
बैठक स्थलमा दुई नेताबीच चर्काचर्की भएपछि त्यहाँ परिचालित स्वयंसेवकहरूले श्रेष्ठलाई रोक्न खोजे।
श्रेष्ठले उनीहरूलाई पनि 'तिमीहरू मलाई रोक्ने को हो' भन्दै प्रतिवाद गरे।
उनी आक्रोशित हुँदै बोलिरहेका बेला स्वयंसेवकहरूले बैठक स्थलमा उपस्थित पत्रकारहरूलाई बाहिर पठाएका थिए। त्यसको केही बेरमा श्रेष्ठ पनि बैठकबाट बाहिरिए।
उनले बैठक हल बाहिर उपस्थित पत्रकारहरूलाई भनेका थिए, 'मैले बैठक बहिष्कार गरेँ।'
पार्टीका अन्य केही नेताले पनि श्रेष्ठलाई बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार, श्रेष्ठले सुरूमै बोल्न समय मागेका थिए। उनले भनेका थिए, 'म आज अलि भावुक भएँ। पहिला मेरो कपाल कालो थियो। माई हेयर वाज ग्रे। यस्तो पाराले पार्टी चल्छ?'
'पछि स्वयंसेवकहरूले रोक्न खोज्दा अरू नेताहरूले आपत्ति जनाए,' उनले भने, 'अध्यक्षज्यूले प्रतिवेदन पढुञ्जेल उहाँ उभिइरहनुभयो।'
उनका अनुसार, श्रेष्ठले फेरि पनि बोल्न समय मागेका थिए।
त्यसको जबाफमा ओलीले भने, 'तपाईंलाई सभ्य तरिकाले बोल्न आउँदैन। म समय दिन्नँ।'
'त्यसो भए म बाहिर गएर बोल्न फ्री भएँ होइन त?' श्रेष्ठले भने।
'त्यसपछि अध्यक्षज्यूले 'तपाईं मन लागेको गर्नुस्' भनेपछि उहाँ बैठकबाट बाहिरिनुभयो,' बैठकमा उपस्थित एक नेताले भने।
सोमबारको यो घटनाले एमालेभित्र चलिरहेको नेतृत्व र विधिको बहसलाई सतहमा ल्याइदिएको छ।
'अति भएपछि धैर्यको बाँध टुट्यो, अनि प्रतिवाद गरेँ'
हामीले यो घटनाबारे सोमबार राति कृष्णगोपाल श्रेष्ठसँग कुरा गरेका छौं।
उनले अध्यक्ष ओलीले बैठक सञ्चालन गर्दा देखाएको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
दलीय प्रणालीमा यसअघि कहिल्यै नदेखेको अवस्था सोमबार देखिएको उल्लेख गर्दै उनले सेतोपाटीसँग भने, 'दलीय प्रणालीमा कुनै पार्टीमा कहिल्यै नदेखेको अवस्था देखेँ मैले आज। यो अकल्पनीय व्यवहार भयो। अति भएपछि प्रतिवाद गरेको हुँ।'
उनका अनुसार बैठकमा ओलीले आफै श्रद्धाञ्जलि दिने, आफै कार्यक्रम सञ्चालन गर्ने र आफै एजेन्डा प्रस्तुत गर्ने गरेका थिए। लामो समयसम्म आफ्ना असन्तुष्टि पार्टीभित्रै राख्नुपर्छ भनेर धैर्य गरेर बसे पनि सोमबार ओलीको व्यवहारले आफ्नो 'धैर्यको बाँध टुटेको' उनले बताए।
'उहाँले नै श्रद्धाञ्जलि दिनुभयो, उहाँले नै कार्यक्रम सञ्चालन गर्नुभयो, उहाँले नै एजेन्डा ल्याउनुभयो। मेरो धैर्यको बाँध टुट्यो अनि मैले प्रतिवाद गरेँ,' उनले भने।
बैठकमा ओलीको प्रतिवाद गर्दा स्वयंसेवकहरूले रोक्न खोजेको उल्लेख गर्दै उनले भने, 'मैले स्वयंसेवकहरूलाई गाली गरेजस्तो गरेर अध्यक्ष ओलीलाई नै सुनाएको हुँ। ओलीले 'उहाँ बोलिरहनुहुन्छ, छाडिदिनुस्' भन्नुभयो।'
बैठकमा आफू लामो समय उभिँदा समेत ओलीले बस्न नभनेको भन्दै श्रेष्ठले अध्यक्षको व्यवहारप्रति पनि प्रश्न उठाएका छन्।
'मेरो अध्यक्षमा अलिकति पनि दया, मायाको भावना रहेनछ। त्यत्रो बेर उभिँदा पनि उहाँले बस्नुस् भन्नुभएन। उहाँले मानवता देखाउनुभएन,' उनले भने।
ओलीप्रति आफ्नो लामो राजनीतिक निष्ठा रहेको उल्लेख गर्दै श्रेष्ठले उनको नाममा जीवन नै समर्पण गरेको भन्न मिल्ने बताए। तर पछिल्लो समय ओलीबाट अपमानित हुनुपरेको उनको गुनासो छ।
'मैले ओलीका नाममा जीवन नै समर्पण गरेँ भन्दा हुन्छ। तर म उहाँबाट कति अपमान हुनुपर्यो, त्यो सबैले देखेका छन्,' उनले भने।
'पेले' बाट पोखरेल समूहसम्म
श्रेष्ठ लामो समय ओलीका विश्वासपात्रमध्ये थिए। ओली प्रधानमन्त्री हुँदा उनले मन्त्रिपरिषदमा बसेर काम गरे। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा २०७८ सालमा उनले ओलीको पक्षमा दिएको भाषणकै कारण उनको 'ओली समर्थक' छवि अझ बलियो बनेको थियो।
तर एमालेको ११औं महाधिवेशनसम्म आइपुग्दा उनी ओली समूहबाट बाहिरिए।
श्रेष्ठले वरिष्ठ नेता ईश्वर पोखरेलको समूहबाट सचिव पदमा उम्मेदवारी दिए। उम्मेदवारी दर्ता गरेपछि उनले आफूहरूको प्रतिस्पर्धा कुनै व्यक्तिविरूद्ध नभई पार्टीभित्रको कार्यशैली र संस्कारको प्रश्नसँग जोडिएको बताएका थिए।
'आफूलाई मन परे जे पनि गर्ने र मन नपर्दा योग्य र सक्षम कार्यकर्तालाई पनि लतार्ने र घिसार्ने जुन प्रवृत्ति रह्यो, हाम्रो उम्मेदवारी त्यही प्रवृत्तिविरूद्ध हो,' श्रेष्ठले त्यति बेला भनेका थिए।
उनले नयाँ नेतृत्वमार्फत एमालेमा विधि, प्रक्रिया र संस्कार स्थापित गर्नुपर्ने बताएका थिए।
पोखरेललाई उनले एमाले निर्माणका 'आर्किटेक्ट' समेत भनेका थिए। ओलीबाट पोखरेलमाथि भएको 'अपमान र उपेक्षा' विरूद्ध आफूहरू उभिएको उनको भनाइ थियो।
ओलीको प्रतिवेदन र श्रेष्ठको प्रश्न
श्रेष्ठले सोमबार उठाएको प्रश्न केवल बैठक सञ्चालन गर्ने विषयमा सीमित छैन।
त्यही केन्द्रीय कमिटी बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको 'रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण' बारे लामो व्याख्या गरेका छन्।
ओलीले रूपान्तरण भनेको पार्टीको इतिहास मेट्नु नभई कार्यशैली बदल्नु भएको बताएका छन्। हस्तान्तरण भनेको पद खाली गर्ने आकस्मिक प्रक्रिया नभई जिम्मेवारी, ज्ञान, अनुभव र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण भएको उनको व्याख्या छ।
पुस्तान्तरण पनि उमेरको अंकगणित मात्र नभएको भन्दै ओलीले नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव र निर्णय प्रक्रियामा स्थान दिनुपर्ने बताएका छन्।
तर त्यसै प्रतिवेदनमा उनले आफूलाई अध्यक्षबाट विस्थापित गर्ने प्रयासलाई 'बेमौसमी बाजा' को संज्ञा दिएका छन्।
'केही व्यक्तिहरूले अध्यक्ष विस्थापित गर्ने मनसाय र प्रयासका बेमौसमी बाजा बजाइरहेको पाइएको छ,' ओलीले भनेका छन्।
पुनर्गठनको नाममा नेतृत्व विस्थापन गर्न खोजिएको भन्दै उनले प्रश्न गरेका छन्— 'के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ?'
ओलीका अनुसार पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन, असहज र असामान्य अवस्थामा बाध्यतावश गरिने काम हो।
निर्वाचनमा पार्टीले व्यहोरेको परिणामपछि समीक्षा हुनुपर्ने आवाजलाई आफूले अस्वीकार नगरे पनि संकटको समयमा जिम्मेवारीबाट भाग्न नमिल्ने ओलीको भनाइ छ।
'नैतिक जिम्मेवारी स्वीकार गर्नु भनेको संकटको बीचमा संगठनलाई नेतृत्वविहीन बनाउनु होइन,' ओलीले भने, 'जिम्मेवारीको अर्थ समस्या पहिचान गरेर समाधानको नेतृत्व गर्नु पनि हो।'
ओलीको प्रतिवेदनमा 'पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन' भन्ने उपमा छ।
'एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो,' ओलीले भनेका छन्।
तर केन्द्रीय कमिटी बैठकको पहिलो दिनको दृश्यमा प्रश्न जरा र पालुवाको मात्र रहेन।
बैठक कसले चलाउने भन्ने सामान्य देखिने प्रक्रियागत प्रश्नमै अध्यक्ष र कुनै समयका उनका सबभन्दा प्रखर समर्थकमध्येका श्रेष्ठ आमनेसामने भए।
त्यसैले सोमबारको उनको प्रतिवादलाई केवल बैठक सञ्चालनको विवादका रूपमा मात्र हेर्ने कि एमालेभित्र नेतृत्व, विधि र कार्यशैलीलाई लिएर विकसित भइरहेको ठूलो बहसकै एउटा दृश्यका रूपमा बुझ्ने— यो प्रश्न अहिले पार्टीभित्रै उठेको छ।
श्रेष्ठले आफूले भोगेको व्यवहारको जबाफ आगामी दिनमा दिने चेतावनीसमेत दिएका छन्।
'अति दानवीय व्यवहार भयो। यसको जबाफ भोलिका दिनमा हुन्छ,' उनले सेतोपाटीसँग भने।
***