नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बिहान ९ बजेपछि सुरू हुँदैछ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
बैठकलाई व्यवस्थित र अनुशासित बनाउन अध्यक्ष ओलीले कडा नियमहरू लागू गरेका छन्। जसअनुसार केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोल्नका लागि समयमा कडाई गर्दैछन्।
उनले बैठकमा बोल्नका लागि तीन मिनेट समय तोक्ने तयारी गरेका छन्।
बैठक अवधिभर नेताहरूलाई बाहिर जान नदिने र जानै परेमा अध्यक्षको अनुमति लिएर मात्र जानपर्ने अनि मोबाइल प्रयोगमा समेत रोक लगाउने तयारी गरिएको छ।
यस पटक अध्यक्ष ओलीले बैठक पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेका छन्। यसअघि महासचिवले बैठक सञ्चालन गर्ने स्थापित परम्परालाई तोड्दै ओली आफैंले बैठक सञ्चालन र काम कारबाहीको जानकारी दिने काम गरिरहेका छन्।
बैठकमा अध्यक्षले चाहेभन्दा बढी बोल्न खोज्ने सदस्यहरूलाई रोक्न स्वयंसेवकहरूसमेत परिचालन गरिएको छ। हिजोको बैठकमा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बोल्न खोज्दा स्वयंसेवकहरू लगाएर रोकिएको थियो।