बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनामा प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच सोमबार मन्त्रालयमा भएको भेटवार्तामा बेलायतले यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिएको हो।
भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा भेटवार्तामा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बेलायत सरकारले उक्त सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज निर्माण तथा पुनर्निर्माण र पुनर्स्थापनाका अन्य काममा समेत प्राविधिक तथा आर्थिक सहयोग गर्ने जानकारी दिएको छ।
त्यस्तै, नेपाल सरकारले अघि बढाएका दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।