नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईलाई धारणा राख्न रोकेका छन्।
उनले धारणा राख्न अध्यक्षसमक्ष समय माग गरेका थिए। तर अध्यक्ष ओलीले बोल्न समय नदिएका हुन्।
उपमहासचिव भट्टराईले लिखित प्रस्ताव बैठकमा पढेर सुनाउन खोजेका थिए। तर अध्यक्षले समय नदिएपछि उनले कुरा राख्न पाएनन्।
लिखित प्रस्ताव पार्टी अध्यक्षलाई भने बुझाएको नेताहरूले बताएका छन्।
‘उहाँले केही कुरा राख्न समय माग गर्नुभएकोमा अध्यक्षले आफ्नो पालोमा बोल्न भन्नुभयो, त्यसपछि उपमहासचिवजीले लिखित प्रस्ताव अध्यक्षलाई दिनुभएको छ,’ एक केन्द्रीय सदस्यले भने।
अहिलेसम्म वर्णानुक्रमअनुसार बोल्न दिइएको छ। बैठकको सुरूमा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई बोल्न समय दिएका थिए र उनीहरू दुवैले अध्यक्षको राजनीतिक प्रतिवेदनमा समर्थन जनाएका थिए।