राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने मौसम विभागको पूर्वानुमानलाई गम्भीरतापूर्वक लिँदै तत्काल पूर्व तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिइन्। मौसम पूर्वानुमान र सञ्चारमाध्यमहरूले लगातार सचेत गराइरहेको अवस्थामा सरकार मौन बस्न नहुने उनको भनाइ छ।
‘यस्तो पूर्वसूचना आइसकेर क्षति भएपछि राहत र उद्धार मात्र होइन, हाम्रो सरकारले जोखिममा रहेका बस्ती र सडकको पहिचान गरी आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरोस्। म उद्धार टोली, डोजर, एम्बुलेन्स र औषधि तथा राहत सामग्री तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिन चाहन्छु,’ उनले भनिन्।
साथै, देशले वर्षैभरि भोग्नुपरेका प्राकृतिक प्रकोपहरूको सन्दर्भ कोट्याउँदै सांसद डाँगीले विपद् व्यवस्थापनमा सरकारको स्पष्ट नीति र दीर्घकालीन योजनाको माग गरेकी छन्।