नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सरकारमा रहेकाहरूले जनताको अवस्था बुझ्न नसकेको बताएकी छन्।
आज प्रतिनिधि सभामा बोल्दै उनले भनिन्, ‘सत्ता, शक्ति, अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ। हिजो सरकारका विरुद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको?’
उनले जनताले शब्द होइन, कर्म र जवाफ खोजिरहेको पनि बताइन्।
‘फेसबुकमा गुड जब लेख्न नसक्ने श्रमिक पनि नेपाली हुन् भन्ने अनुभूति सरकारलाई छ कि छैन। किन भुइँमान्छेहरू महँगीको मारमा परेको समाचार पढ्दैन सत्ता पक्षको समाचार बुलेटिनमा? किन रोजगारीको अवसरबाट बञ्चित सर्वसाधारणको समाचार वाचन हुँदैन?’ रास्वपाले सञ्चालन गर्ने समाचार बुलेटिनतर्फ संकेत गर्दै उनले भनिन्।
उनले त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको आज २८ दिन भइसकेको र पटक-पटक सदनबाट घच्घच्याउँदा पनि सरकार बेखबर रहेको बताइन्।
‘सरकारका लागि यो सामान्य पुल होला, तर त्रिशूलीपारिका ८ वटा पालिका, धादिङ सदरमुकाम र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि यो अत्यन्तै महत्त्वपूर्ण सडक हो। यो पुल हाम्रो शरीरको मेरुदण्डजस्तै हो। मेरुदण्ड भाँचिएपछि शरीर नचलेजस्तै यो पुल नहुँदा आज समग्र धादिङको जनजीवन प्रभावित हुन पुगेको छ। यसतर्फ सरकारको छिटो ध्यान जाओस्,’ उनले भनिन्।
१०० मिटरको बेलिब्रिज बनाउन प्राविधिक चुनौती होलान् तर असम्भव भने नरहेको उल्लेख गर्दै उनले नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माण प्रक्रिया सुरु भइसकेको उल्लेख गरिन्।
‘यसका साथै घाटबेंसी, जरेखेत, बेलकोटगढी र गल्छीको केउरिनी-फोस्रेटार जोड्ने पक्की पुलहरू तथा गल्छी, चरौदी र घ्याल्चोक जोड्ने झोलुङ्गे पुलहरू बग्दा जनजीवन अस्तव्यस्त बनेको छ। १० मिनेटमा पुगिने स्कुल जान साना बालबालिका २ घण्टा घुमेर जान बाध्य छन्। किसानले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्याउन पाएका छैनन्। यसले भोटेकोशी बाढीले दिएको घाउमा थप पीडा थपेको छ,’ उनले भनिन्, ‘फुर्के खोलामा तत्काल बेलिब्रिज निर्माण गरियोस् र अन्य पक्की तथा झोलुङ्गे पुलहरूको पुनःनिर्माणका लागि प्राविधिक टोली खटाई तुरुन्त ठेक्का प्रक्रिया अगाडि बढाइयोस्।’
उनले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा हुनसक्ने समाचार सार्वजनिक भइरहेको भन्दै यसले आम नागरिकमा डर र त्रासको अवस्था सिर्जना गरेको बताइन्।
‘त्यसैले सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाको जोखिम न्यूनीकरणका लागि समयमै आकलन गरी आवश्यक उद्धार, राहत तथा सहयोगका लागि सरकारलाई पूर्वतयारी अवस्थामा रहन म आग्रह गर्दछु,’ उनले भनिन्।