सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नजिकिँदै गरेको दसैंमा नागरिकको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न पूर्वतयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजमार्गका खाल्डाखुल्डी पुर्नेदेखि अग्रिम टिकट बुकिङ र भाडादर नियन्त्रणसम्मका काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका हुन्।
दसैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्सेनि १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले विगतका वर्षहरूमा यात्रुले भोगेका सास्तीबारे सदनलाई स्मरण गराए।
पोहोर सालसम्म टिकट पाउनै ‘महाभारत’ हुने, यात्रुहरू भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्य हुने, जीर्ण सडकले थिलथिलो हुनुपर्ने र मनपरी भाडाले प्रताडित हुने गरेको उल्लेख गरेका थिए।
लाखौं यात्रुलाई सहज यात्रा गराउन सरकारको पूर्वतयारी अत्यावश्यक रहेकोतर्फ जोड दिँदै उनले भने, ‘म सरकारसँग माग गर्दछु; तत्काल राजमार्गका खाल्डाखुल्डी पुरियोस्, अग्रिम टिकटलाई व्यवस्थित गरियोस्, भाडादर नियन्त्रण गरी सुरक्षित यात्रा सुनिश्चित गरियोस्।’
समस्या आइसकेपछि मात्र तात्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै उनले अब कार्यशैली बदल्नुपर्नेमा जोड दिए। सदनमा बोल्दै उनले भने, ‘आगलागीपछि मात्र कुवा खन्ने शैली पाल्ने हैन, फाल्ने हो। तब न बालेन सरकार!’
चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने अस्तव्यस्तता र यात्रुले भोग्ने सास्तीलाई समयमै सम्बोधन गर्न सचेतक परियारले संसद्मार्फत सरकारलाई सचेत गराएका छन्।