नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य आरसी लामिछानेले पार्टीलाई सुदृढ बनाउन तत्काल पुनर्जागरणको आवश्यकता रहेको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै नेता लामिछानेले एमाले सशक्त रूपमा अगाडि बढेमा मात्रै जनताका भावना र विचारहरूलाई सही नेतृत्व दिन सकिने स्पष्ट पारे।
पार्टीलाई व्यक्तिवादी ढङ्गबाट नभई सामूहिक नेतृत्व प्रणालीमा लैजानुपर्नेमा जोड दिँदै उनले आन्तरिक सुधार भाषणमा मात्र सीमित हुन नहुने बताए।
'हामी आफू सुध्रिने भनेर मात्रै हुँदैन, व्यवहारमै सुध्रिएर जनतामा जानुपर्छ,' उनले भने, 'पार्टीलाई एकताबद्ध बनाएर लैजानुको अब कुनै विकल्प छैन।'
त्यस्तै, नेता लामिछानेले पार्टीभित्र देखिएका नेतृत्व तहका विवाद र अन्य समस्याहरूलाई वस्तुनिष्ठ तरिकाले छलफल गरी तत्काल समाधान गर्नुपर्ने बताए।
आगामी निर्वाचन नजिकिँदै गएकाले आन्तरिक मतभेदहरू अन्त्य गर्दै एकजुट भएर चुनावी अभियानमा होमिनुपर्नेमा उनले जोड दिएका छन्।