नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।
ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।
बिहान ९ बजेपछि सुरू हुने तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त प्रतिवेदनमाथि मंगलबारदेखि मात्रै केन्द्रीय सदस्यहरूले धारणा राखेका हुन्।
मंगलबार ११८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेको आचार्यले जानकारी दिएका छन्।
केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय दिइएको छ।
बाँकी केन्द्रीय सदस्यहरुले बुधबार धारणा राख्नेछन्।
एमालेको केन्द्रीय समिति २९७ सदस्यीय छ।
सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी छ।
सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले जानकारी दिएका छन्।