नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा गर्ने भनिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।
मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेकपाले नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ।
गत वैशाखको बैठकले भदौ १५ सम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरी मंसिर ११ गते एकता राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका तय भएको थियो।
नेकपाले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप र अरू विविध कारणले कार्यतालिका प्रभावित भएको भनेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
नयाँ कार्यतालिका आगामी केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरिने उनले बताएका छन्।
पार्टीको केन्द्रीय सचिवालय बैठक दसैंअघि नै बस्ने पनि उनले बताएका छन्।
‘मंसिरमा महाधिवेशन हुने गरी भदौदेखि नै वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र महाधिवेशनसम्मको कार्यतालिका अगाडि सारेका थियौँ। तर बीचमा बाढी पहिरोलगायतका विभिन्न चुनौती र अप्ठ्याराका कारण त्यो कार्यतालिका कार्यान्वयन गर्न असहज भयो,’ उनले भने, ‘त्यसकारण त्यसलाई अलि व्यवस्थित प्रस्ताव बनाएर सचिवालयको बैठकमा पेश गर्छौं र नयाँ कार्ययोजना पारित गर्छौं।’
नेकपाले यसबीचमा पुनः वामपन्थी दलहरूसँग पार्टी एकता प्रक्रिया अघि बढाउन वार्ता समिति बनाएको छ।
देव गुरुङको संयोजकत्वमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो।
समितिले विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलसँग वार्ता अघि बढाउने र सहमति भएका दलसँग पार्टी एकताको प्रक्रिया अगाडि बढाउने ज्वालाले बताए।
उनले विप्लव समूहबाट विभाजित भई हालै राष्ट्रिय भेला गरेर केन्द्रीय समिति बनाएको नेपाल कम्युनिस्ट पार्टीसँग तत्कालै वार्ता अघि बढाउन सकिने बताएका छन्।
एमालेसहित अन्य दलसँग पनि छलफल र वार्ता गरिने उनले बताए।