नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।
स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत असोज ३ गते वडा अधिवेशनबाट सुरू भएको महाधिवेशन अब पालिका तहमा पुगेको हो।
केही छिटपुट स्थानबाहेक देशभरका अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले आजको पालिका अधिवेशन पनि सहज र सौहार्दपूर्ण रूपमा सम्पन्न हुने बताएको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बाबजुद निर्वाचन समितिले अधिवेशनको कार्यतालिका अघि बढाएको जनाएको छ।
भीषण बाढीपहिरोबाट ठूलो क्षति भएको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राखेर केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको समितिले जनाएको छ।
सदस्य सचिव अधिवक्ता कटुवालका अनुसार यो राजनीतिक विवाद वा असमझदारीका कारण नभई देशभरको ठूलो तथ्यांक एकैपटक व्यवस्थापन गर्दा भएको प्राविधिक समस्या हो।
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा ५ जना पदाधिकारी निर्वाचित हुनेछन्।
जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहनेछन्। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने व्यवस्था छ।
पालिका कार्यसमितिका सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य, युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्।
कार्यसमितिलाई थप समावेशी बनाउन गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ।
मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य रूपमा प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।