ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढेको जानकारी दिए।
मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
‘हामीले क्षतिको लेखाजोखा गर्नुका साथै भविष्यमा यस्ता जोखिम न्युनिकरण गर्न सक्ने प्रविधि र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
मन्त्री श्रेष्ठले भविष्यमा निर्माण हुने जलविद्युत आयोजनाहरूलाई विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको बताए।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बंगालको खाडीमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सचेत रहन आग्रह गरेका थिए।
–न्युज एजेन्सी नेपाल