सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले नियमापत्ति जनाएकी छन्।
सांसद प्रसाईंले 'कम्युनिस्ट भाष्य' भन्ने शब्द प्रयोग गरेपछि नेकपाकी विकले नियमापत्ति जनाएकी हुन्।
प्रसाईंले विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको र जलवायु न्याय र क्षतिपूर्तिबारे माग्दा नम्र र शालिन भएर प्रस्तुत हुनुपर्ने बताएका थिए।
'हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो। तर नम्र र शालीन भएर । र विज्ञान र तथ्यका आधारमा तर्कसंगत भएर। त्यसकारण प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु। मेरो प्रधानमन्त्रीको सम्बोधन खाली गर्दै गरेको अपराधको हामीले दुःख पायौं भनेर गाली र मित्रराष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउनेतर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन,' उनले भनेका थिए।
नेकपा सांसद विकले कम्युनिस्ट भाष्य भनेर अपमानित गर्न खोजिएको भन्दै उक्त शब्दलाई रेकर्डबाट हटाउन माग गरेकी हुन्।
'कम्युनिस्ट भाष्य भन्ने शब्द यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ विचारअनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ। राजनीतिक दल खोल्न पाउनुपर्छ। विचार अनुसार काम गर्न पाउनुपर्छ। कम्युनिस्ट भाष्य भन्ने शब्द यति अपमानित तरिकाले प्रयोग गरिएकोमा रेकर्डबाट हटाइयोस्,' विकले भनिन्।