सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले स्वायत्त सरूवा बोर्ड गठन गर्न माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र नजिकका मानिसहरूबाटै हुने ‘स्वार्थप्रेरित’ दबाबलाई रोक्न सरकारले तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने माग गरेका हुन्।
सांसद आचार्यले राजनीतिमा आएपछि आफूले पनि सरुवा र बढुवाका लागि सबैभन्दा बढी दबाब झेल्नुपरेको बताए।
'राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो। सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,' उनले भने।
सांसद आचार्यले आफूले यस्ता आग्रहहरूलाई विधि र पद्धतिभन्दा बाहिर गएर सम्बोधन गर्न नसकिने भन्दै फर्काउने गरेको स्पष्ट पारे।
‘हाम्रो बाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ। जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ। सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ,’ उनले भने।
उनले अगाडि भने, ‘यदि यो व्यवस्था नभए आउँदो दसैंमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार।’
– न्युज एजेन्सी नेपाल