नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर कार्यसमितिको सभापति पदमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
श्रेष्ठले १५२ मत प्राप्त गर्दै आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारेका हुन्।
उनका मुख्य प्रतिस्पर्धी कृष्णप्रसाद शाही खड्गीले ९२ मत प्राप्त गरे। यस्तै, अन्य प्रतिस्पर्धीहरू राजेन्द्र महर्जनले २८, रमेश सुवेदीले १४ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गरे।
नवनिर्वाचित सभापति श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा नं. १२ का पूर्ववडाध्यक्ष हुन्।
सञ्चार क्षेत्रमा समेत लामो अनुभव बटुलेका श्रेष्ठको नेतृत्वमा अब चन्द्रागिरि नगर कांग्रेसको संगठनात्मक गतिविधि अगाडि बढ्नेछ।
नगर कार्यसमितिको अन्य पदहरूतर्फ:
महिला उपसभापति: शान्ता बस्नेत १२२ मत ल्याएर निर्वाचित भइन्। उनका प्रतिस्पर्धीहरू सुनिता रोक्काले ९८ र उमा कुमारी थापाले ६० मत प्राप्त गरे।
खुला उपसभापति: पुरुषोत्तम उदास १६३ मतसहित निर्वाचित भए भने विमला पोखरेलले १०९ मत प्राप्त गरिन्।
सचिव: दिनेश महर्जन २२१ मतका साथ भारी अन्तरले विजयी भए। उनका प्रतिस्पर्धी जीवनकुमार गिरीले ६५ मत प्राप्त गरे।
नगर नेतृत्व चयन प्रक्रिया सम्पन्न भएसँगै अब नयाँ कार्यसमितिले स्थानीय तहमा पार्टी सुदृढीकरण र संगठनात्मक विस्तारको कामलाई तीव्रता दिनेछ।
नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।