नेपाली कांग्रेसले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएको छ।
प्रवक्ता देवराज चालिसेले गिरफ्तारी कानुनसम्मत र आवश्यक भएको भए त्यसको स्पष्ट कानुनी आधार र औचित्य सरकारले सार्वजनिक गर्नुपर्ने बताए।
सेतोपाटीसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले विशेष सुरक्षा चुनौती वा अन्य असाधारण परिस्थितिका कारण अनुसन्धानका लागि राणालाई पक्राउ गरिएको हो भने त्यसको विश्वसनीय आधार पनि राज्यले स्पष्ट पार्नुपर्ने बताए।
कांग्रेस अपराधको अनुसन्धान र कानुन कार्यान्वयनको विपक्षमा नरहेको भन्दै चालिसेले कानुन कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया अपनाइएको अवस्थालाई स्वीकार गर्न नसकिने बताएका छन्।
‘कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकाय पनि संविधान र कानुनको सीमाभित्र रहनु हो,’ उनले भने, ‘कसैले कानुन उल्लंघन गरेको भए निष्पक्ष अनुसन्धान हुनुपर्ने, प्रमाणका आधारमा कारबाही गर्नुपर्ने र दोषी ठहरिए कानुनअनुसार सजाय हुनुपर्छ। तर, गिरफ्तारी आफैमा दोषको प्रमाण होइन।’
राज्यसँग शक्ति हुने भएकाले त्यसको प्रयोग अझ पारदर्शी, न्यायोचित र जबाफदेही हुनुपर्ने भन्दै उनले सबैका लागि कानून समान छ भन्ने विश्वास व्यवहारमै स्थापित गर्नुपर्ने बताए।
पूर्वप्रधान न्यायाधीश राणालाई आज बिहान ३ बजे प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो।