गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशन जारी राखेको अवस्थामा त्यसमा असहमति जनाएका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरेका छन्।
असोज १५ गते वडा अधिवेशन गर्ने तयारीमा देउवा पक्ष छ। जबकि थापा पक्षले असोज ३ र ४ मा वडा अधिवेशन गरिसकेका छन्। यो अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिएनन्।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५ औं महाधिवेशन तयारी समिति बनाएर अधिवेशन तयारी अघि बढाएका हुन्।
उक्त पक्षले २०७८ सालमा भएको १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको थियो।
शनिबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक कोइरालाले असोज १५ गते वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गरिने बताए।
देउवा पक्षले करिब सबै जिल्लामा अधिवेशन तयारी गर्न संयोजकसमेत तोकिसकेका छन्।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरिसकेका छन्।
असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको उनले बताए।
निर्वाचन समिति संयोजक पोखरेलले क्रियाशील सदस्यता विवरण आफूले पाइसकेको बताएका छन्।
गत पुसमा विशेष महाधिवेशन भएदेखि कांग्रेसमा मतभेद छ। विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा पक्षका केही नेताहरू भने संस्थापन पक्षमा सामेल भई अधिवेशनमा होमिएका छन्।
थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्दैछन्। यो महाधिवेशनमा देउवा पक्ष सहभागी नहुने भएको छ भने मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी भइरहेको हो।