नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र एकताको सम्भावना अझै रहेको बताएका छन्।
डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले असोज १६ गते हुने १५ औं महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गर्न आफूहरू तयार रहेको बताएका हुन्।
‘अझै पनि गगन थापाले असोज १६ गतेको महाधिवेशन उद्घाटन सत्रमा शेरबहादुर देउवालाई अध्यक्षता गराएर असोज १७ मै बिदा गरिदिए पनि हामी त्यसका लागि तयार छौं,’ उनले भने, ‘अझै एकताको सम्भावना छ, उद्घाटन र अध्यक्षता १६ गते देउवाबाट गराएर १७ गते बिदा गरे हुन्छ।’
बलायरले पार्टीभित्रको मुख्य विवाद गत फागुनको प्रतिनिधि सभा निर्वाचनको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषयमा रहेको बताएका थिए।
‘हिजो टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने थियो। देउवाले गगन थापाको हस्ताक्षरको टिकट माग्दा पनि नपाउने कुरा त पत्रकारले पनि बुझ्नुपर्छ,’ उनले भने।
उनले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका देउवालाई डडेल्धुराबाट चुनाव लड्ने अन्तिम इच्छा गगन थापाले पूरा गरिदिएको भए अहिलेको अवस्था फरक हुन सक्ने बताएका थिए।
‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि देउवा डडेल्धुरामा लड्ने अन्तिम इच्छा थियो, त्यो पूरा गरिदिएको भए हुन्थ्यो,’ बलायरले भने।
बलायरले आफूहरू नियमित महाधिवेशनको पक्षमा रहेको पनि स्पष्ट पारे। चुनावको बीचमा विशेष महाधिवेशन गर्न नहुने आफूहरूको धारणा रहेको उनको भनाइ थियो।
‘हामी नियमित महाधिवेशन पक्षधर हौँ। चुनावका बीचमा विशेष नगरौँ भनेका थियौँ,’ उनले भने, ‘तैपनि विशेष महाधिवेशन भयो।’
कांग्रेसको विशेष महाधिवेशन प्रक्रियासम्बन्धी विषय अदालतमा समेत विचाराधीन रहेको उनले बताए।
साथै उनले असोज १५ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुने भएकाले महाधिवेशनको प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो।