उत्तर कोरियाली सैनिकको अवस्थाबारे गोपनीयताको सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै दक्षिण कोरिया र युक्रेनबीच कूटनीतिक विवाद चर्किएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा रूसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरिया पठाइएको जानकारी दिएपछि विवाद सुरू भएको हो।
दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपतीय सचिव सुङ की-हङले आइतबार राति युक्रेनले सैनिकहरूलाई दक्षिण कोरिया पठाइएको विषय ‘एकपक्षीय र अचानक’ सार्वजनिक गरेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।
उनका अनुसार युक्रेनले सैनिकहरूको स्थानान्तरणबारे जानकारी गोप्य राख्न आग्रह गरेको थियो। विषय संवेदनशील भएकाले दक्षिण कोरियाले त्यसमा सहमति जनाएको उनको भनाइ छ।
‘हामी युक्रेनबाट आधिकारिक स्पष्टीकरण र माफीको माग गर्छौं,’ उनले भने।
तर जेलेन्स्कीका सञ्चार सल्लाहकार दिमित्रो लिट्भिनले दक्षिण कोरियाको आरोप अस्वीकार गरेका छन्। उनले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने कुनै सम्झौता नभएको दाबी गरेका छन्।
युक्रेन र दक्षिण कोरिया दुवै उत्तर कोरिया र रूसबीच बढ्दो सैन्य सहकार्यको विरोध गर्दै आएका छन्। तर पछिल्लो विवादले दुई देशबीचको सम्बन्धमा दरार ल्याएको छ।
युक्रेनले विश्वकै प्रमुख हतियार उत्पादक मुलुकमध्ये रहेको दक्षिण कोरियासँग हतियार तथा अमेरिकामा निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली माग गर्दै आएको छ। तर दक्षिण कोरियाले सक्रिय युद्ध क्षेत्रमा मानवीय सहायता मात्र उपलब्ध गराउने आफ्नो नीति देखाउँदै युक्रेनलाई हतियार दिन अस्वीकार गर्दै आएको छ।
यसैबीच किभका केही उच्च अधिकारीहरू दक्षिण कोरिया र रूसबीच बढिरहेको व्यावसायिक सम्बन्धप्रति पनि असन्तुष्ट छन्।
उनीहरूले गत जुलाईमा दक्षिण कोरियाबाट रूसमा ३० हजार मेट्रिक टन प्रशोधित इन्धन पठाइएको विषय उठाउँदै आएका छन्।
दक्षिण कोरियाले गत महिना रूसको सहकार्य आवश्यक पर्ने आर्कटिक उत्तरी समुद्री मार्गबाट परीक्षण समुद्री यात्रा पनि गरेको थियो।
रूसी भूमिमा पक्राउ परेका थिए सैनिक
ती दुई उत्तर कोरियाली सैनिक सन् २०२५ जनवरीमा रूसको कुर्स्क क्षेत्रमा घाइते अवस्थामा युक्रेनी सेनाको नियन्त्रणमा परेका थिए।
युक्रेनी गुप्तचर निकायका अनुसार रूसका लागि लड्न उत्तर कोरियाले करिब ५० हजार सैनिक पठाएको छ। उत्तर कोरियाले रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र र भारी तोपखाना प्रणाली समेत उपलब्ध गराएको युक्रेनको दाबी छ।
युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकमध्ये यी दुई मात्रै जीवित रहेको बताइएको छ। दक्षिण कोरियाली सञ्चार माध्यमसँगको अन्तर्वार्ताका क्रममा दुवैले दक्षिण कोरिया जान इच्छा व्यक्त गरेका थिए।
गत जुलाईमा दक्षिण कोरिया र युक्रेनबीच उनीहरूको भविष्यबारे सहमति भएको थियो।
दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार दुवै देशले ती सैनिकलाई अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार तथा उनीहरूको स्वतन्त्र इच्छाको सम्मान गर्दै व्यवहार गर्ने सहमति गरेका थिए।
युक्रेनी एक वरिष्ठ अधिकारीका अनुसार गत जुनमा दुई देशका विदेश मन्त्रीबीच भएको बैठकमा सैनिकहरूको स्थानान्तरणबारे विस्तृत छलफल भएको थियो। तर राष्ट्रपतीय तहमा उनीहरूको स्थानान्तरण सार्वजनिक नगर्ने कुनै सहमति नभएको उनको दाबी छ।
युक्रेनस्थित दक्षिण कोरियाली दूतावासले भने उत्तर कोरियाली युद्धबन्दीको विषयमा युक्रेन र सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग परामर्श भइरहेको जनाएको छ।
सैनिकका परिवारमाथि जोखिम
उत्तर कोरियामा विदेश पलायन गरेका व्यक्तिका परिवार वा सरकारका नजरमा ‘देशद्रोही’ मानिएका व्यक्तिका परिवारले समेत सामूहिक सजाय भोग्नुपर्ने अवस्था रहेको मानवअधिकार विज्ञहरूले बताएका छन्। उनीहरूलाई नजरबन्द वा जबर्जस्ती श्रममा लगाउने लगायतका सजाय हुन सक्ने बताइन्छ।
सेजोङ इन्स्टिच्युटका अनुसन्धानकर्ता पिटर वार्डले यी दुई सैनिकको अवस्थालाई सार्वजनिक गर्दा उनीहरू र उनीहरूका परिवारको सुरक्षामा असर पर्न सक्ने बताएका छन्।
‘मानव अधिकारको दृष्टिकोणबाट हेर्दा युक्रेनले यी सैनिक र उनीहरूका परिवारको हितमा ठूलो क्षति पुर्याएको छ,’ उनले भने।
उनका अनुसार दक्षिण कोरियाली सञ्चार माध्यमलाई समेत उनीहरूसँग अन्तर्वार्ता लिन अनुमति दिनु उचित थिएन। सैनिक पक्राउ परेको कुरा नै स्थायी रूपमा गोप्य राखिनु उपयुक्त हुने उनको धारणा छ।
यस विवादले दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङका लागि घरेलु राजनीतिक चुनौती समेत थपेको छ। उनले उत्तर कोरियासँग तनाव कम गर्ने र संवाद बढाउने नीति अपनाउँदै आएका छन्। तर उनको नीतिलाई विपक्षीहरूले उत्तर कोरियाली शासनप्रति नरम भएको आरोप लगाउँदै आलोचना गरेका छन्।
विपक्षी पिपुल्स पावर पार्टीका संसदीय नेता जङ जोम-सिकले गत साता राष्ट्रपति ली उत्तर कोरियाली नेता किम जोङ उनलाई असन्तुष्ट बनाउन डराएको आरोप लगाएका थिए। उनले लीमाथि ‘झूटो शान्तिका लागि उत्तर कोरियासँग बिन्ती गरिरहेको’ आरोप समेत लगाएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)