नेपाली कांग्रेसले असोज १६ देखि थाल्ने तय गरेको १५ औं महाधिवेशन केही दिनपछि सार्ने तयारी गरेको छ।
प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै तीन दिनदेखि एक सातासम्म पछि सार्ने तयारी भइरहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ।
‘पछिल्लो केही दिनयताको झरीले देशका विभिन्न भागमा फेरि बाढी र पहिरोको समस्या निम्त्याएको छ,’ कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने ‘त्यसैलाई मध्यनजर गरेर उद्घाटन मिति तीन दिनदेखि एक सातासम्म पछाडि सार्नेबारे तयारी भइरहेको छ।’
ती पदाधिकारीका अनुसार मौसमी प्रतिकूलताका कारण विभिन्न जिल्लाका क्षेत्रीय अधिवेशनहरू प्रभावित छन्। त्यसैले केही दिन पछि सार्नेबारे छलफल सुरू भएको ती पदाधिकारीले जानकारी दिए।
‘मंगलबार बिहान पार्टी कार्यालयमा बैठक गरेर यसबारे निर्णय लिइनेछ,’ उनले भने।
असोज १६ मा भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन सार्ने तयारी भएपछि कांग्रेस मुख्यालय सानेपाले असोज १९ का लागि काठमाडौं महानगरको सभाहल बुक गरिराखेको छ।