सात महिनादेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्तासँग छुट्टाछुट्टै छलफल गरेका छन्।
दुवै देशका अधिकारीहरूका अनुसार युद्धविराम र शान्ति वार्तालाई पुनः अघि बढाउने प्रयासअन्तर्गत पछिल्लो संवाद भएको हो। आगामी छलफल गत साता संयुक्त राष्ट्रसंघको महासभाको क्रममा इरानले प्रस्तुत गरेको सातदिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानसँग युद्ध सुरु गरेका थिए। सात महिनादेखि जारी युद्धमा हजारौं मानिसको मृत्यु भएको छ भने तेल आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज अवरुद्ध हुँदा विश्व बजारमा समेत असर परेको छ।
यसअघि मध्यस्थता मार्फत भएका वार्तामा अमेरिका र इरानले अप्रिल र जुनमा दुईपटक युद्धविराममा सहमति गरेका थिए। तर दुवै सहमति लामो समय टिक्न सकेनन्।
इरानको प्रस्तावमा युद्धविरामदेखि नाकाबन्दी हटाउनेसम्म
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी विदेशमन्त्री अब्बास अराघ्ची त्यहीँ छन्। इरानको सरकारी समाचार संस्थाका अनुसार उनले पछिल्लो युद्धविराम प्रस्तावबारे अमेरिकाको जवाफको प्रतीक्षा भइरहेको बताएका छन्।
उनले हर्मुजबाट समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा पनि इरानले आफ्ना सर्त स्पष्ट गरिसकेको बताएका छन्।
‘यदि अमेरिकीहरू सम्झौता वा शान्तिपूर्ण समाधान खोजिरहेका छन् भने हामीले त्यो समाधान प्रस्तुत गरिसकेका छौं,’ अराघ्चीले भने।
इरानको सातदिने प्रस्तावमा इरान र लेबननमा जारी सबै प्रकारका शत्रुता अन्त्य गर्ने, इरानको अर्बौं डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तथा इरानी बन्दरगाह माथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएका छन्।
यसको बदलामा इरानले तेल बोक्ने पानीजहाजका लागि महत्वपूर्ण मार्ग हर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ।
साथै इरानको आणविक कार्यक्रमबारे पुनः वार्ता गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अत्याधिक प्रशोधित युरेनियम नियन्त्रण वा नष्ट गर्न चाहेको विषयमा पनि छलफल अघि बढाउने प्रस्तावमा उल्लेख छ।
ट्रम्पले शनिबार इरानको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका थिए। उनका अनुसार आर्थिक दबाबका कारण इरान तत्काल सम्झौता गर्न चाहिरहेको छ।
तर आइतबार अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै ट्रम्पले यही साता अमेरिकी वार्ताकारहरूले इरानी पक्षसँग थप छलफल गर्ने अपेक्षा रहेको बताएका थिए।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तासँग छुट्टाछुट्टै संवाद गरेको पुष्टि गरे। उनले वार्ताबारे थप विवरण भने दिएनन्।
उता अराघ्चीले आइतबार मध्यस्थकर्ताले अमेरिकाले इरानको प्रस्ताव औपचारिक रूपमा अस्वीकार गरेको जानकारी आफूहरूलाई नदिएको बताएका थिए। अमेरिकाको स्पष्ट धारणा आएपछि मात्रै आगामी कदमबारे निर्णय गर्ने इरानको भनाइ छ।
‘हाम्रा सर्तहरू स्पष्ट छन्। स्ट्रेट अफ हर्मुज पुनः खोल्ने कुनै पनि कदम ती सर्त पूरा भएपछि मात्रै सम्भव हुन्छ,’ अराघ्चीले भनेका छन्।
उनका अनुसार जारी गतिरोधको समाधान वार्तामार्फत मात्रै सम्भव छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)