नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
रोल्पामा एक नगरपालिका र ९ गाउँपालिकामा ७२ वडाहरू छन्।
ती मध्ये ७१ वडामा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमले सेतोपाटीलाई बताए।
जिल्लाको लुङ्ग्री गाउँपालिका–३ मा प्राविधिक कारणले वडा अधिवेशन हुन नसकेको निर्वाचन अधिकृत गौतमले बताए। कांग्रेसको गतिविधि न्यून रहेको तथा संगठित सदस्यहरुले चासो नदिएको हुँदा हाल अधिवेशन गर्न संभव नभएको एक नेताले बताए।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय सभापति रहँदैनन्। दुईवटा प्रदेश सभापति भने सोमबार नै सर्वसम्मत रुपमा चयन भएका हुन्।
रोल्पाको प्रदेश १ ‘क’को सभापतिमा बिमलकुमार जिसी र प्रदेश १ ‘ख’ को सभापतिमा प्रताप बुढा सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत गौतमले बताए।
गौतमका अनुसार अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यस्तै दुई वटा प्रदेश क्षेत्रीय अधिवेशन बाट २४ / २४ जना प्रदेश प्रतिनिधि समेत सर्वसम्मत रूपमा चयन भएका छन्।