पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिई करिब १२ घण्टापछि छाडिएको विषयमा नेकपा (एमाले) प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले सरकारको मौनतामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले थ्रेट के थियो, कसले दिएको थियो र सूचना कहाँबाट आएको थियो भन्नेबारे सरकार अहिलेसम्म मौन रहेको भन्दै आपत्ति जनाएका छन्।
आचार्यले सुरक्षा खतरा उत्पन्न हुँदा खतरा दिने व्यक्ति वा समूहको पहिचान गरेर कारबाही गर्नुको सट्टा खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिने सरकारी कदममाथि औंल्याएका छन्।
साथै उनले १२ घण्टामै समाप्त हुने कस्तो प्रकारको सुरक्षा थ्रेट थियो भन्दै सरकारले नागरिकलाई जवाफ दिनुपर्ने बताएका छन्।
नागरिकसामु वास्तविक तथ्य आउनुपर्ने माग गर्दै आचार्यले लेखेका छन्, ‘सुरक्षा थ्रेट भन्ने दुई शब्दको पर्दा पछाडि लुकेको वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन?'