नेपाली कांग्रेसका नेता विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी सोमबार सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
चौधरी मधेसी कलस्टरबाट महाधिवेशन प्रतिनिधि भएका हुन्। यही कलस्टरबाट प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव पनि महाधिवेशन प्रतिनिधि भएका छन्।
सर्वसम्मत हुन नसकेका पदहरूमा भने सोमबार निर्वाचन भएको थियो। खुलातर्फ ७५ जनाको उम्मेदवारी परेको थियो।
चौधरी यही क्षेत्रबाट गत फागुनको निर्वाचनमा उम्मेदवार रहे पनि रास्वपा उम्मेदवारसँग पराजित भएका थिए।
चौधरी गत वर्ष पुसमा भएको विशेष महाधिवेशनमा पनि सहभागी थिए भने उक्त महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए।
उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
साथै चौधरी २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसदसमेत भएका थिए।