नेकपा एमालेकी वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीले अब पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्।
एमालेले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेपछि बुटवलमा पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले सर्वोच्च पदमा पुगिसकेपछि पनि जनता र देशको सेवाका लागि पार्टी जिम्मेवारीमा आएको बताइन्।
‘सर्वोच्च पदमा पुगिसकेपछि फेरि पार्टीको जिम्मेवारी लिने कि नलिने भन्ने थियो तर, हिजोको योगदानको सम्मान गरेर पार्टीले जिम्मेवारी दिएपछि त्यसलाई स्वीकार गरेर पार्टी जिम्मेवारीमा आएकी हुँ,’ नेकपा एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारीले भनिन्।
पूर्वराष्ट्रपति रहेकी भण्डारीले पार्टीले दिएको जिम्मेवारीलाई स्वीकार गर्दै पार्टी जीवनमा आफूले ऊर्जा थप्ने बताइन्।
‘म पदको हिसाबले यहाँभन्दा माथि जाने ठाउँ छैन, तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ,’ उनले भनिन्।
उनले आफू बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर जनताको सेवामा लागेको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै जाने बताइन्।
पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई भने सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
२०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको उल्लेख गर्दै उनले वाम एकता र पार्टी विभाजनले एमाले सहित समग्र वाम आन्दोलनमै असर परेको बताइन्।
भण्डारीले नेतृत्वले गरेको गल्तीको असर कार्यकर्ता पङ्क्तिसम्म पर्ने भएकोले नेतृत्वको कार्यशैली र कम्युनिस्ट आन्दोलनबारे निर्मम समीक्षा हुनुपर्ने बताइन्।
मानिसको विचार र आस्थालाई सजिलै परिवर्तन गर्न नसकिने उल्लेख गर्दै उनले एउटा निर्वाचनबाट जनमत सकियो भन्ने भाष्य बनाउनु नहुने बताइन्।
‘हामीले आफ्नै कामको आत्मसमीक्षा गर्नै पर्छ। अरूलाई मात्र दोष देखाएर आफ्ना कमजोरीबाट उम्कन पाइँदैन,’ भण्डारीले भनिन्।
भण्डारीले बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट उपाध्यक्षको जिम्मेवारीमा पुगेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्षको रूपमा पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक हुने अवसर पनि बुटवलबाटै जुरेको बताइन्।