नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै चाडपर्व सकिएलगत्तै सशक्त आन्दोलन गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार महँगी, भ्रष्टाचार र कुशासनमा लिप्त भएको भन्दै मुलुकको अर्थतन्त्र र जनजीविका दयनीय अवस्थामा पुगेको दाबी गरेका हुन्।
सचिव बस्नेतले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले सरकारका जनविरोधी गतिविधि विरूद्ध प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए।
उनले बैठकले पार्टीभित्रको एकतालाई अझ सुदृढ गर्दै कार्यकर्ता पङ्क्तिलाई परिचालन गर्ने म्यान्डेट दिएको बताए।
सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र केही अभियन्ताहरूलाई गरेको गिरफ्तारीलाई बस्नेतले प्रतिशोधको राजनीति भनी टिप्पणी गरे।
बस्नेतले भने, ‘हामीले भ्रमहरू चिरेका छौँ र पार्टीलाई थप जुझारु बनाएका छौँ। सरकारका अधिनायकवादी हर्कत विरूद्ध अब एमाले टुलुटुलु हेरेर बस्दैन। मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ भने जस्तै यो सरकारको गतिविधि अन्तिम समयको हतासपूर्ण प्रयास हो।’
मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै बस्नेतले पुँजीगत खर्च हुन नसक्नु, निजी क्षेत्र आतंकित हुनु र बैंकिङ क्षेत्रमा ऋण प्रवाह नहुनुले सरकारको नीतिगत असफलता प्रष्ट पारेको बताए।
उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले सुशासनको नारा दिएपनि व्यवहारमा भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाए। –न्युज एजेन्सी नेपाल