नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दाङको क्षेत्र नं. ३ बाट लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
थारू क्लस्टरबाट उम्मेदवार बनेका युवाहरू यादव चौधरी र केशव चौधरीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर सर्वसम्मत भएको दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत संजय केसीले जानकारी दिए।
उनी कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता पनि हुन्।
गत १४औं महाधिवेशन वा त्यसभन्दा पहिलाका महाधिवेशनमा पनि उनी पार्टी भित्र कहिलै निर्वाचन लड्नु परेन। सधैँ सर्वसम्मत भए।
विगतमा मुक्तकमैयाको आन्दोलनदेखि प्रौढ शिक्षा लगायतका सामाजिक कार्यबाट स्थापित हुँदै राजनीतिमा लागेका डिल्लीबहादुर आफ्नो समुदायका साथै लुम्बिनी कांग्रेसमा लोकप्रिय मानिन्छन्।
विगतका संसदीय निर्वाचनमा डिल्लीबहादुर साबिक राप्ती अञ्चलको पाँचै जिल्लामा कांग्रेस पराजित हुँदा चुनाव जित्ने एक्ला नेता हुन्।
त्यस्तै दाङ क्षेत्र नं. ३ को संघीय सचिवमा विमल पौडेल सर्बसम्मत निर्वाचित भएका छन्।
विगतमा संचारककर्म र हाल व्यवसायमा संलग्न देबिराम कुसारी र बिमल गौतमले उम्मेदवारी फिर्ता लिएपछि पौडेल सर्वसम्मत भएका हुन्।
पौडेल यसअघि सुरेश हमाल नेतृत्वको तुलसीपुर उपमहानगरपालिका नगरसमितिमा सचिवको जिम्मेवारीमा थिए।
पेसाले उनी अटोमोबाइल्स व्यवसायी हुन्।
त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा जनजाति क्लस्टरबाट कमल घर्ती सर्वसम्मत भएका छन्।
उनी यसअघि नेपाल तरुण दल तुलसीपुरका अध्यक्ष थिए। कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत भएका हुन्।
निर्वाचन अधिकृत केसीका अनुसार प्रदेशतर्फ अरू पनि सर्वसम्मत भएका छन्।
दाङ क्षेत्र नं. ३ मा खसआर्य बाट पूर्वमन्त्री दीपक गिरी महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन्। पार्टी पूर्व केन्द्रीय सदस्य गिरीलाई युवाहरुले चुनौती दिएका छन्।
खसआर्य कोटामा तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दीपक गिरीसहित ६ जना प्रतिस्पर्धी छन्। केन्द्रीय सदस्य केशव आचार्य, महादेव शाह, डा. नहकुल केसी, युवा नेत्र गिरी (बसन्त), शिशिर लामिछानेबीच प्रतिस्पर्धा हुनेछ।
निर्वाचन अधिकृत केसीका अनुसार दाङ क्षेत्र नं. ३ मा १० खुल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ३७ जनाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ।
यस पटक सधैँका पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरी, प्रदेशसभाका पूर्व सांसद शंकर गिरी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का जस्ता चर्चित अनुहार भने महाधिवेशन प्रतिनिधिको दौडमा छैनन्।
पाका नेताहरुमध्य संविधानसभा सदस्य बुद्धिराम भण्डारी दौडमा सामेल छन्। जस्ले विगतमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका थिए।
त्यस्तै दाङ क्षेत्र नं. ३ सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ।
जसमा खिमबहादुर वली, सुरेन्द्रबहादुर खड्का, किरणबहादुर शाह, कुमार लामिछाने र घनश्याम ढकाल मैदानमा छन्।
निर्वाचन अधिकृत केसीका अनुसार मतपत्र छपाइ लगाएत केही प्राबिधिक समस्याका कारण बिहान ९ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी छ।