नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै जिल्ला–जिल्लामा राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिएका छन्।
असोज १८ देखि २१ गतेसम्म हुने महाधिवेशनलाई लक्ष्य गर्दै महरले पछिल्लो समय प्रदेश र जिल्लाहरूमा नेता तथा कार्यकर्ताहरूसँग भेटघाटलाई तीव्रता दिएका हुन्।
उनी महामन्त्री उठ्ने तयारीमै थिए। हालै गृह जिल्ला डडेल्धुरा कांग्रेसले उनलाई महामन्त्री उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यसपछि उनले जिल्ला दौडाहा सुरू गरेका हुन्। अहिले जिल्लाका क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचनहरू भइरहेका छन्। सोही अवसर पारेर महरले जिल्ला दौडाहा गरेका हुन्।
मंगलबारसम्म उनले धनगढी र कञ्चनपुरसँगै बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर र चितवनका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट गरिसकेका छन्। अब हेटौंडा पुगेर छलफल गर्ने तयारीमा उनी छन्।

महरले कांग्रेसलाई समयसापेक्ष बनाउने एजेन्डासहित आफू महामन्त्रीमा उम्मेदवारी दिने गरी तयारीमा जुटेको बताए।
आफूले नेविसंघको अध्यक्षका रूपमा काम गर्नुका साथै करिब २० वर्ष विद्यार्थी राजनीतिमा बिताएको उनले उल्लेख गरेका छन्।
गाउँदेखि सहरसम्मका समस्या बुझेकाले विभिन्न पुस्तालाई जोडेर कांग्रेसलाई अघि बढाउन सक्ने आफ्नो अनुभव रहेको उनले सुनाए।
कांग्रेसमा गुट–उपगुट निर्माण गर्न नहुने र नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उनको धारणा छ।
कांग्रेसलाई प्रभावशाली पार्टीका रूपमा अघि बढाउने आफ्नो लक्ष्य रहेको उनले बताए।

राजनीतिशास्त्रमा एमफिल गरेका महर हाल पीएचडी अध्ययनरत छन्।
शेरबहादुर देउवा सभापति रहँदा उनले पार्टीमा केन्द्रीय शिक्षा विभाग प्रमुखसमेत रहेर काम गरेका थिए। उनले ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापकका रूपमा पनि काम गरेका छन्।
महर नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति पनि हुन्।
राजनीतिभन्दा बाहिर पनि उनको चासो छ। उनले ‘बन्छ बन्छ मेरो देश बन्छ’ तथा ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान’ गीत लेखेका छन्।
उनका प्रकाशित पुस्तकमा ‘शिक्षाका चुनौतीहरू’, ‘नेपाली कांग्रेस र भ्रातृ संगठन’, ‘अबको कांग्रेस’, ‘संकल्प’ र ‘काण्डैकाण्ड–महाकाण्ड’ रहेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा महरले आफ्नो उम्मेदवारीलाई लिएर प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्तासँग भेटघाट र छलफललाई निरन्तरता दिएका हुन्।