नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
विद्यार्थी कालदेखि राजनीतिमा लागेका श्रेष्ठ महेन्द्रबहुमुखी क्याम्पस दाङको स्ववियू सभापति थिए।
उनी यस अघि प्रदेश २ (क) को सभापति थिए।
प्राप्त अन्तिम मत परिणाम अनुसार श्रेष्ठले ५६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष योगीले ४०१ मत प्राप्त गरेका थिए।
त्यस्तै सचिवमा तिलकबहादुर केसी ५१९ मत प्राप्त गरी निर्वाचित हुँदा शरद बिक (समिप) ले ४२७ मत प्राप्त गरे।
सहसचिव (खुला) तर्फ मधुसुदन अधिकारी ४७५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिष्पर्धी निरज गिरीले ४३३ मत प्राप्त गरे।
सहसचिव (महिला) मा रेखा केसी ५१६ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी सपना मजगैया अधिकारीले ४४६ मत प्राप्त गरिन्।
दाङ क्षेत्र नं. २ को नेतृत्व चयन गर्न मंगलबार मतदान भएको थियो। अन्तिम मत परिणाम बुधबार बिहान सार्वजनिक भएको हो।