मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
गत आइतबार यहाँ मर्स्याङ्दी नदी थुनिएको थियो। उक्त क्षेत्रको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन्।
आज निरीक्षणका क्रममा उनले प्रभावित नागरिकको अवस्था, भएको क्षति र तत्काल गर्नुपर्ने कामबारे स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुखसँग छलफल गरेका छन्।
चामे पुगेका मुख्यमन्त्री पाण्डेले खोलाघरमा थुप्रिएको ग्राभेल र ठूला ढुङ्गाका कारण केही घर जोखिममा रहेको बताए। पक्की पुलसमेत पुरिएको अवस्था रहेकाले खोलाघर खोल्ने र जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र पहल गरिएको उनले बताए।
उनले स्थानीय नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या र मागसमेत सुनेका छन्। सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए।
स्थानीय तह र प्रदेश सरकारको स्रोतबाट तत्काल गर्न सकिने काम तुरुन्त अघि बढाउने र ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने उनले बताए।
चाडपर्व नजिकिँदै गएको अवस्थामा प्रभावित नागरिकको दैनिकी सहज बनाउनु अहिलेको मुख्य प्राथमिकता रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।
उनले अवरूद्ध सडक तथा पूर्वाधार सञ्चालन, राहत, उद्धार, उपचार र पुनःस्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताए।