नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का आकांक्षी उम्मेदवारहरूले निर्वाचन प्रक्रिया सुचारु गर्न माग गरेका छन्।
केन्द्रीय निर्वाचन कार्यालय सानेपामा आज निवेदन दिँदै उनीहरूले निर्वाचन प्रक्रिया प्रभावित पारिएको भन्दै असहमति जनाएका हुन्।
काभ्रे २ को निर्वाचन प्रक्रियाका क्रममा जिल्ला निर्वाचन कार्यालयले क्षेत्रीय प्रतिनिधिहरूको नामावली र निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो।
त्यसपछि आकांक्षी उम्मेदवारहरूले विधानअनुसार आवश्यक कागजात बुझाउनुका साथै तोकिएको दस्तुरसमेत तिरेर निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएका थिए।
तर, उम्मेदवारी दर्ता सम्पन्न भएपछि जिल्ला निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन नगरी सहमतिको पहल गर्ने भन्दै निर्वाचन प्रक्रिया अघि नबढाएको निवेदनमा उल्लेख छ।
उनीहरूका अनुसार केहीले निर्वाचन प्रक्रियालाई प्रभावित पारेका छन्।
दुई दिनसम्म केही उम्मेदवारसँग सम्पर्क नगरी असोज १३ गते साँझ ६ बजे निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्ने भ्रामक सूचना सार्वजनिक गरिएको उनीहरूको आरोप छ।
उक्त सूचना नेपाली कांग्रेसको विधान, निर्वाचन सञ्चालन ऐन तथा प्रचलित कानुनविपरीत भएकाले बदरभागी हुने निवेदनमा उल्लेख गरिएको छ।
आकांक्षी उम्मेदवारहरूले जिल्ला निर्वाचन समितिमार्फत बाँकी निर्वाचन प्रक्रिया सुचारु गर्न माग गरेका छन्। साथै, निर्वाचन प्रक्रिया प्रभावित पार्ने यस्तो रवैयाप्रति असहमति जनाउँदै खेद प्रकट गरेका छन्।